चितवनमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आजदेखि शुरु

पोल्ट्रीमा आत्मनिर्भर चितवन दाना र औषधिमा अझै परनिर्भर

 


११ कात्तिक, चितवन । पोल्ट्रीको राजधानीको रुपमा ख्याती कमाएको चितवनको भरतपुरमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आज आईतबारदेखि सुरु हुने भएको छ । नेपालमा नै पहिलोपटक शुरु हुनलागेको सिम्पोजियममा नेपालसहित १० देशका ५० भन्दा बढी विज्ञहरु सहभागी हुने छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत रहेको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको सो गोष्ठी तीन दिनसम्म चल्ने छ ।

११५ वटा विभिन्न कार्यपत्रहरु पेश हुने उक्त कार्यक्रमको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्ने छन् । नेपालको तर्फबाट पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले नेपालको पोल्ट्री क्षेत्रको सुरुवात, वर्तमान अवस्था, अनुसन्धान, लगानी, समस्या र भविश्यका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा भारतीय पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष प्रा.डा. देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा. नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर ग्रुभ्स, भारतीय कृषि अनुसन्धान परिषदरकेन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एस. सी. गिरी लगायत विदेशी वैज्ञानिकहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा कुखुरा उत्पादन सम्वन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन् व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामिण कुखुरापालन जस्ता विधाहरुमा कार्यपत्र पेश गरिने तथा ज्ञान र सिपको आदानप्रदान गरिने कार्यक्रम संयोजक प्रा. डा शारदा थपलियाले जानकारी दिइन् ।

नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि ग्रार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ
नेपालमा आत्मनिर्भर उन्मुख क्षेत्रका रुपमा पोल्ट्रीलाई लिने गरिएको छ । नेपालको व्यवसायिक कुखुरापालनबाट राज्यले वार्षिक ३३ अर्ब ७२ करोड आर्थिक उपार्जन गरिरहेको विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए ।
पोल्ट्री क्षेत्रमा करिब १ लाख ५० हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् ।
पशु सेवा विभागको सन् २०१७ को तथ्यांक अनुसार नेपालमा करिब ७ करोड कुखुरा छन् । देशको कुल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ ।
नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि ग्रार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ ।
नेपालको कूल पोल्ट्रीजन्य उत्पादनको अधिकांश हिस्सा आत्मनिर्भर बन्दै गएको पोल्ट्री क्षेत्रको राजधानी चितवनले नै ओटेको छ । अण्डा, दाना, चल्ला उत्पादनमा त चितवन झनै अगाडि छ ।

उत्पादनको हिसाबले मात्रै होइन, नीति निर्माण र प्रविधि उपयोगको हिसाबले पनि चितवन नेतृत्वदायी भूमिकामा छ ।
पोल्ट्री क्षेत्रको नीति निर्माण तहमा प्रभाव पार्न सक्ने, कृषि विश्वविद्यालय चितवनमा नै हुनु, पोल्ट्रीलाई आवश्यक चल्ला, औषधि, दाना लगायतका नयाँ उपकरण पनि चितवनबाट नै अन्यत्र जाने हुनाले नै चितवनलाई पोल्ट्रीको राजधानी भनिएको हो ।

पोल्ट्रीजन्य पदार्थको सप्लाई सेन्टरका रुपमा पनि चितवन विकसित हुँदै गएको छ । नेपालमा खपत हुने ७० प्रतिशत चल्ला, २८ प्रतिशत हाराहारी दाना चितवनबाट नै जाने गरेको छ ।
नेपाल व्यवसायिक कुखुरापालन सर्वेक्षण २०७२ को तथ्यांकअनुसार देशभर २१ हजार ९ सय ५६ फार्म व्यावसायिक रूपमा सञ्चालित छन् । यी फार्ममध्ये ९३ दशमलव २९ प्रतिशत ब्रोइलर उत्पादक, ६ दशमलव ९ प्रतिशत लेयर्स उत्पादक र जिरो दशमलव ५८ प्रतिशत ह्याचरी (चल्ला उत्पादक) छन् । यो तथ्यांक हालसम्म आइपुग्दा करिब ३५ प्रतिशतले वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

सुली मलबाट ४५ करोड आम्दानी

एक वर्षमा देशभर ६ करोड ८ लाख २६ हजार ८ सय ८० वटा कुखुरा व्यावसायिक प्रयोजनले उत्पादन हुन्छन् । सर्वेक्षण प्रतिवेदनअनुसार किसानले एक वर्षमा कुखुरा मासु, अण्डा, चल्ला बिक्रीबाट वार्षिक ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रुपैयाँ कमाएका छन् ।

कुखुराबाट २० अर्ब ५२ करोड ८८ लाख ९१ हजार, अन्डाबाट ९ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्लाबाट ३ अर्ब ६० करोड ७६ लाख ७४ हजार, सुली मलबाट ४५ करोड ३७ लाख २२ हजार रुपैयाँ आम्दानी भएको प्रतिवेदनले देखाएको छ ।

०७२ को सर्वेक्षण अनुसार किसानले ब्रोइलर ५ करोड २६ लाख ६६ हजार २९ वटा, लेयर्स ६९ लाख ८ हजार ५ सय ९५ र अन्य जातका १२ लाख ५२ हजार २ सय ५५ वटा कुखुरा पालेका छन् । तर व्यवसायीहरु गत असार मसान्तसम्म वार्षिक १० करोड ७९ लाख कुखुरा पालिंदै आएको बताउँछन् ।

तथ्यांकअनुसार सबै फार्मबाट गरी एक वर्षमा १ लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन हुन्छ । मुलुकभरका १ सय २८ ह्याचरीले वर्षमा ८ करोड ३३ लाख ६२ हजार चल्ला उत्पादन गरेका छन् ।

पोल्ट्रीमा आत्मनिर्भर दाना र औषधीमा परनिर्भर

यो तथ्यांकलाई केलाउँदा चितवन पोल्ट्री उत्पादनको हिसाबले सबैभन्दा अगाडि छ । सबैभन्दा बढी व्यवसायिक रुपमा कुखुरापालन गर्ने फर्मरकृषक भएको जिल्लामा चितवन नै रहेको छ । १९२० फर्मरकृषक संख्या रहेको चितवनमा देशभरको ८.७ प्रतिशत हुन आउँछ ।

सबैभन्दा बढी ब्रोइलर कुखुरा उत्पादन गर्ने जिल्लामा पनि चितवन नै अगाडि छ । देशभरको उत्पादनको १० प्रतिशत ब्रोइलर चितवनमा नै उत्पादन हुन्छ । उत्पादनको हिसाबले त चितवन निकै अगाडि छ । २०७२ को सर्वेक्षण अनुसार नेपालमा कूल उत्पादन अण्डामध्ये ६८ प्रतिशत चितवनमा उत्पादन हुन्छ । कुखुरापालन व्यवसाय संख्या चितवनमा १ हजार ९२३ रहेको छ । ती मध्ये १ हजार ३६५ ब्रोइलर, ५०२ लेयर्स, ५६ ह्याचरी रहेको प्रतिवेदनमा उल्लेख छ ।

पोल्ट्रीमा नेपाल आत्मनिर्भर भए पनि दाना तथा औषधीमा भने परनिर्भर हुने अवस्था छ । वार्षिक १६ अर्ब बराबरको कच्चा पदार्थ र त्यसमा ७० प्रतिशत हिस्सा मकै बिदेशबाट आयात गर्नुपरेको तथ्यांकले देखाएको छ । कुखुरामा लाग्ने बर्डफ्लु रोगका कारण वार्षिक २० देखि २५ करोड रुपैयाँसम्म घाटा लाग्ने गरेको छ ।