श्रृङ्गारका कमसल सामग्री बिक्री गर्ने नारायणगढका केही ब्यापारी पक्राउ ।

 

चितवन , २४ असोज । चितवनमा कस्मेटिक व्यापारीहरुले श्रृङ्गारका कमसल सामग्री बिक्री गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । मकवानपुरको बसामाडीस्थित युनिलिभर नेपाल लिमिटेडले उत्पादन गर्दै आएका ब्रान्डको नाममा कमसल खालका श्रृङ्गार सामग्री बजारमा आएको उक्त लिमिटेडले बजार मा अनाधिकृत रूपमा बिक्रीवितरण भइरहेको नक्कली सामग्रीको बिक्रीवितरण तत्कालै रोकी आवश्यक छानबिन गरी पाउ भनी उद्योग विभागमा निवेदन दर्ता गरेपछि उद्योग विभागको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार नारायणगढका ठूला कस्मेटिक पसलहरुमा अनुगमन गर्ने क्रममा त्यस्ता सामग्री भेटिएको हो । युनिलिभर कम्पनीका प्रतिनिधिकै रोहवरमा कमसल सामग्री बरामद गरेर जिल्ला प्रशासन लगिएको छ । विशेषगरी, युनिलिभरको नाममा उत्पादन भएका श्रृङ्गारका सामग्रीहरु पोन्डस्, फेयर एण्ड लब्ली, डोभ, ल्याक्मे, सनसिल्क स्याम्पुलगायतका सामग्रीमा कैफियत भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । विभागबाट जिल्ला प्रशासन कार्यालय चितवन लाई पसलको नामै तोकेर अनुगमन गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार अनुगमन गर्दा सदाम जनरल स्टोर्सबाहेकका सबै पसलमा कमसल खालका सामग्री भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए । विभागले नारायणगढको के। एन। स्टोर, नरदेवी जनरल स्टोर, माँ अन्नपूर्ण श्रृङ्गार, कमलेश जनरल स्टोर, सदाम जनरल स्टोर, जय माता दी कस्मेटिक, बजरंग जनरल स्टोर र एसियन कस्मेटिकमा अनुगमन गर्न निर्देशन दिएको थियो । ‘तीमध्ये सदाम जनरल स्टोरबाहेक सबैमा कमसल सामग्री भेटियो’, उनले भने, ‘कमसल भेटिएका सबै सामग्री जिल्ला प्रशासन कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।’ उक्त सामग्री परीक्षणका लागि उद्योग विभाग पठाइने उनको भनाइ छ । त्यसपछि उद्योग मन्त्रालयको निर्देशनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । युनिलिभर कम्पनीका ब्रान्ड प्रोटेक्सन प्रमुख दीपक न्यौपानेका अनुसार चितवनका बजारमा ट्रेडमार्कको दुरूपयोग भएको पाइएकोले उद्योग विभागमा निवेदन दिइएको थियो । त्यसैको आधारमा जिल्ला प्रशासन कार्यालय चितवनले तत्काल अनुगमन गरेको हो । ‘नक्क्ली टे«डमार्क लगाएर बिक्री गरेका सामग्रीमार्फत कम्पनी त यसै पनि घाटामा जान्छ’, उनले भने, ‘राज्यले समेत ठूलो क्षति व्यहोर्नुपरेको छ ।’ यसबारे उपभोक्ता आफैँ सचेत भएर कम्पनीमा जानकारी गराएको उनले बताए । ‘हाम्रो स्थानीय डिलरहरुबाट समेत गुनासो आएपछि हामी नक्कली सामग्रीको बिक्रीवितरणमा रोक लगाउनका लागि सरकारलाई सचेत गराएका हौँ’, उनले भने । श्रृङ्गारका सामग्री विशेषगरी छालामा प्रयोग गरिने हुँदा कमसल सामग्री प्रयोग गर्दा छालामा गम्भीर खालको रोग लाग्न सक्ने उनले बताए । ट्रेडमार्क दुरूपयोग गर्नेलाई एक लाख रूपैयाँ जरिवाना र सामान जफत गर्ने कानुनी प्रावधान रहेको उनले बताए ।