चाडवाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा

 

चितवन , १७ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन चितवन शाखाले चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाएको छ । साल्ड ट्रेडिङ कर्पोरेसनको कार्यालय नारायणगढ स्थित लिलाचोकमा शुक्रबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको हो । हरेक दिन बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालनमा रहने सो पसलमा अन्य निजी पसल भन्दा हरेक खाद्य सामग्रीमा ३ रुपैयाँदेखि २५ रुपैयाँसम्म सस्तो रहेको शाखा प्रमुख दाहालले जानकारी दिए । ४६ प्रकारका सामग्री बिक्रीमा राखिएको यो पसलले बजार मूल्य नियन्त्रण तथा कालोबजारी रोक्न सहयोग पुग्ने विश्वास लिइएको छ । एक जनाले नुन र चिनी ६÷६ केजी किन्न पाउने र अन्य सामग्री चाहेजती किन्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, चितवनको निकै विकट मानिएको एक मात्र गाउँपालिका इच्छाकामनालाई लक्षित गरी मुग्लिनमा हप्ताको एक दिन घुम्ती पसल पनि सञ्चालनमा ल्याइएको छ । मुख्य चाडको दिन बाहेक शनिबार र बिदाका दिनमा पनि पसल खुल्ने निर्णयनुसार पसलमा खाद्य सामग्री बिक्री वितरण भइरहेको छ । पसल आगामी कात्तिक २७ गतेसम्म चल्ने दाहालले जानकारी दिए ।