गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुस : काबा प्रमुख गुरुङ

पोखरा १२ असोज । पोखरा महानगरपालिका वडा नम्वर ३२ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार एक कार्यक्रमका वीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गर्नुभएको हो । वडाका ६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरि विद्यालय बाहिर नरहेको घोषणा गरिएको हो । घोषणा सभामा काबा प्रमुख गुरुङले विद्यालय ६ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।

घोषणा कार्यक्रमपछि बोल्दै उहाँले बालबालिकालाई विद्यालयमा भर्ना भएको घोषणा भन्दा उनीहरुलाई विद्यायमा टिकाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो । ‘घोषणा ठूलो कुरा हैन्, यसको निरन्तरता चुनौतीपूर्ण छ । बालबालिकालाई विद्यालयमा टिकाउन सवैले जिम्मेवारी र दायित्व पुरा गर्नुपर्छ ।’ काबा प्रमुख गुरुङले शिक्षा महत्वपूर्ण आधार भएको बताउदै कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुने अवस्था आउन दिननहुने बताउनुभयो । उहाँले सवै बालबालिका विद्यालय आएको घोषणासंगै अव गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । विद्यालयले बालमैत्री वातावरणमा शिक्षा र उनीको मनोभावना अनुसार अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरालाई गुणस्तरीय र प्राविधिक शिक्षामा अब्बल बनाउनुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न बालमैत्री कक्षाकोठा निर्माणमा जोड दिनुभयो । उहाँले सवै बालबालिकालाई विद्यालयमा टिकाउने र विकाउने शिक्षा प्रदान गर्नेपर्नेमा जोड दिनुभयो । उहाँले घोषणाले मात्रै हुने भएकाले दिगो ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । जनकल्याण सिकाई अध्ययन केन्द्रका अध्यक्ष टिकाराम पंगेनीले सिकाई केन्द्रले अनौपचारीक शिक्षामा ठूलो भुमिका खेलेको बताउदै बालबालिकालाई विद्यालयमा आउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नम्वर ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोगन माध्यमिक विद्यालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, ब्रह्मारुपा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डित र विष्णुप्रसाद तिवारी लगायतले बालबालिकालाई विद्यालयमा टिकाउन सवैको सहयोग र साथ चाहिने बताउनुभयो ।