पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने

असोज ११ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, ११ असोज । गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । नतिजा (रिजल्ट) छिट्टै आउँछ ।”

प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा गृहमन्त्री थापाले महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुभयो । महिला माथि हुने हिंसा अपराध नै हुन्, यस्ता अपराधलाई अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै गृहमन्त्री थापाले हिंसालाई राजनीतिकरण नगर्न आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “महिला हिंसालाई बढवा गर्ने तत्वका रुपमा रहेका मदिरा नियन्त्रण, लागुपदार्थ निषेध र अश्लिल प्रकारका विद्युतीय सामग्रीलाई बन्द गरिनुपर्छ, यसमा सरकारले गृहकार्य गरिराखेको छ ।”

गृहमन्त्री थापाले महिलालाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्ने पूँजीवादी संस्कारले गर्दा महिला हिंसा बढेका हो भन्नुभयो ।

गृहसचिव प्रेम राईले महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि अन्तर मन्त्रालयको समन्वय र बजेटमा समेत वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिलाले आफूमाथि हुने हिंसालाई प्रहरीकहाँ दर्ता गराउनेक्रम बढेको दाबी गर्दै महिला हिंसा अन्त्य गर्न प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म कार्य सम्पादन गरेको बताउनुभयो ।