कावासोतीमा युवतीमाथि एसिड र छुरा प्रहार

 

आश्विन ९, २०७५
नवलपरासी — नवलपरासीको पूर्वी खण्डमा रहेको कावासोतीमा एसिड र छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती नगरपालिका–१६ डण्डा हरबासीकी २० वर्षीया सन्ती परियारलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड र छुरा प्रहार गरी गम्भीर घाईते बनाएका हुन् ।
उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सक डा.सुरेश प्रधानले जानकारी दिए । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको डा. प्रधानको भनाई छ ।

सोमबार साँझ बजारबाट घरतर्फ फर्कदैं गरेकी उनीमाथी बाटोमा एक्कासी आक्रमण भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

एसिड प्रहार गर्ने युवक विमल सिर्पाली नवलपुर प्रहरीको नियन्त्रणमा रहेका छन् । नवलपुर प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका विमलले पूर्वसहमती अनुसार काम नभएकोले एसिड प्रहार गरेको बताएका छन् । नवलपुरका प्रहरी प्रमुख रमेश थापाले योजना बनाएर नै विमलले वसन्ती माथि एसिड प्रहार गरेको जानकारी दिए । गएको तीजमा भारतजाँदा नै एसिड किनेर ल्याएको जानकारी प्रहरीलाई दिएको बयानमा विमलले बताएका छन् । विमलले लामो समयदेखि आफु वसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर विहे गर्न नमान्दा आक्रमण गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।