भरतपुर अस्पतालको चरम लापरबाहीले तीन बर्षीया बालक सलिनको मृत्यु : छानबिन समिती ।
चितवन , ६ असोज । भरतपुर अस्पतालको चरम लापरबाहीका कारण एक नाबालकले अनाहकमै ज्यान गुमाउनुपरेको गठित छानबिन तथा सुझाव समितिले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । गत, भाद्र २१ गते सर्पदंशको उपचारको खोजीमा जिल्लाका विभिन्न अस्पतालहरुमा जाँदा उपचार पाउन नसकेपछि मृत्यु भएका भरतपुर महानगरपालिका १५ का ३ वर्षीय बालक सलिन विकको घटनामा भरतपुर अस्पताल नै मुख्य दोषी रहेको प्रतिवेदन चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतको रोहवरमा सार्वजनिक भएको हो । १३ सदस्यीय छानविन एवं सुझाव समितिले सर्पको टोकाइको लक्ष्ण देखिएपछि जटिलता बारे कुनै निगरानी नगर्नु नै अस्पतालको मुख्य कमजोरी भएको जनाएको छ । ‘निजी स्वास्थ्य संस्थासँग सर्पदंशको उपचार गर्ने औषधि (एन्टी स्नेक भेनम) नै छैन, त्यसैले यसका लागि जसरी भए पनि भरतपुर अस्पतालले नै उपचार गराउनुपथ्र्यो’, समितिका संयोजक एवम् जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका निमित्त जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले भने, ‘समस्या बारे निजी अस्पताल पठाए पनि भरतपुर अस्पतालले समन्वयकारी भूमिका खेलेको देखिँदैन । प्रतिविष औषधि उपचार तत्काल सुरु गर्नेपर्नेमा रिफर गरिनु नै कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भरतपुर अस्पतालको आकस्मिक टिकटमा देब्रे हातमा सर्पले टोककोे भनी उल्लेख गरिएपनि सर्पको टोकाइको लक्ष्ण नदेखिएको भन्दै प्रतिविषको औषधि नभएका अस्पतालमा रिफर गरिएको थियो । “विष लागेको ठहर गरेपछि तुरुन्तै उपचारमा जानु पर्दथ्यो”, समितीका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक महतोले भने, “विष लाई ‘न्यूट्रलाइज’ गर्नु पर्दथ्यो, भुइँमै राखेर भएपनि एन्टी स्नेक भेनम दिन सकिन्थ्यो, तर त्यसो नभएको पाइयो ।” बेलैमा प्रति विष दिएको भए बालकको ज्यान जोगिने सम्भावना हुने उनले बताए । “एएसभी दिएको भए बिरामीको नोक्सान हुँदैनथ्यो भन्न त सकिदैन”, उनले भने, “दिएको भए विषले मार्ने शक्ति घट्थ्यो, नोक्सान हुने वा नहुने कुरा त्यसपछि आउने थियो, तर यहाँ बेलैमा नदिदा नोक्सान भएको पाइयो ।” प्रतिवेदनमा भरतपुर अस्पतालको आकस्मिक कक्षको ड्युटीमा रहेका मेडिकल अधिकृत, अनकल विशेषज्ञ डाक्टर, स्टाफ नर्स र अहेवबाट पदीय जिम्मेवारी बहन नगरेको ठहर गरिएको छ । “जे देख्यौँ, सत्यतथ्य समेटेर प्रतिवेदन बनाएका छौँ उनले भने, “पीडितलाई सामाजिक न्याय होस्, राम्रो सेवाप्रवाह होस्, आवश्यक कार्वाही कार्यान्वयन होस् ।” उनले बेलैमा प्रतिविष दिएर उपचार सुरु गरेपछि मात्र आवश्यक परे पीआईसीयूको खोजी गर्नुपर्नेमा सुरुमै पीआईसीयू खोज्न पठाउनु नै गलत भएको बताए ।प्रतिवेदनकै अनुसार बालरोग विशेषज्ञ डा. उन्नत श्रेष्ठले डा. महेन्द्र पन्तको फोन संवादका भरमा पीआईसीयू भएका ठाउँमा पठाउन आदेश दिएका थिए । “यो घटनामा पदीय जिम्मेवारी बहन गरेको पाइएन”, प्रतिवेदन सार्वजनिक गर्दै महतोले भने, “हामीले ड्युटीमा खटिएकाले जिम्मेवारी बहन नगरेको उल्लेख गरेका छौँ, अस्पतालले प्रतिवेदनका आधारमा विभागीय कार्वाही गर्छ भन्ने विश्वास लिएका छौँ ।”
अस्पतालमा रहेका ड्युटी अफिसरलाई कार्वाही गर्नैपर्छ स् प्रजिअ ।
यता, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले समितिलाई दोषी पहिचान गरी कारबाही, पीडितलाई न्याय र भावी सुधारबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए । प्रतिवेदनमा भरतपुर अस्पताललाई मात्रै दोषी देखाइएको छ । तर, संलग्न कर्मचारीलाई कस्तो खालको कारबाही हुन्छ भन्ने विषयमा प्रस्ट खुलाइएको छैनन् । साथै, पीडितपक्षलाई न्याय दिने पक्षमा पनि प्रस्ट छैनन् । ‘पीडित परिवारका एक जनालाई सरकारी निकायसँग समन्वय गरी रोजगार दिलाउने र परिवार लाई कति सकिन्छ त्यति नै राहत संकलन गरेर उपलब्ध गराउने निर्णय भएको छ’, समितीका संयोजक महतोले भने । समिती लाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनी प्रमुख जिल्ला अधिकारी बस्नेतले निर्देशन दिएपनि ९ दिनपछि बल्ल प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक भएपछि प्रजिअ बस्नेतले प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । साथै, राहत संकलनको विषयमा पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् । ‘पीडित परिवारलाई राहत दिने विषयमा नलम्ब्याऔँ’, उनले भने, ‘सकेसम्म घन्टाभित्रै संकलन गरेर उपलब्ध गराऔँ ।’ पीडित परिवारलाई पाँच लाख रूपैयाँ राहत उपलब्ध गराउन सिफारिस गर्ने सल्लाह भए पनि प्रतिवेदनमा प्रस्ट उल्लेख नगरिएको उनले बताए । आईसीयू÷पीआईसीयू भएका ठाउँमा पठाउनुपर्ने कर्तव्यबाट च्यूत भएको बताए । “संलग्न सबै अस्पताल र ड्युटीमा रहेका सबैले व्यक्तिगत अर्थ संकलन गरेर पीडित पक्षलाई राहत दिनैपर्छ”, उनले भने, “भरतपुर अस्पतालले यसमा समन्वय गर्नुपर्छ, निजी अस्पताल का ड्युटीमा भएका स्टाफलाई पनि कारबाही गर्नैपर्छ, सरकारी अस्पतालका सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मीलाई विभागीय कारबाही छिट्टै हुन्छ ।”
प्रतिवेदनप्रति सर्प्विज्ञ डा. पाण्डेको असहमति
सर्पदंशबाट बालकको मृत्यु भएपछि बनेको छानबिन समितीले सही निष्कर्ष निकाल्न नसकेको भन्दै आमन्त्रित सदस्य सर्प विज्ञ डा. देवप्रसाद पाण्डेले ‘नोट अफ डिसेन्ट’ दिएका छन् । छानबिन समितीबाटै सही मूल्यांकन गर्न नसकेको र फितलो निर्णय गरेको भन्दै ‘नोट अफ डिसेन्ट’ दिएको उनले बताए । प्रतिवेदनमा उल्लेख गरिएका केही बुँदाहरुमा मेरो असहमती छ’, उनले भने, ‘त्यसैले, सुझावसहितको ‘नोट अफ डिसेन्ट’ दिन बाध्य भएको हुँ । ’तर पनि यस समितिले डा. श्रेष्ठको लिखित बयान नै नलिइएको उनले बताए । ‘यस घटनामा निर्देशकको भूमिकामा देखिएका डा. श्रेष्ठबाट लिखित जवाफ समावेश नगरेर प्रतिवेदनलाई नै कमजोर पार्न खोजिएको उनको भनाइ छ । ‘त्यसैले, डा. उन्नत श्रेष्ठसँगबाट पनि लिखित बयान लिन आग्रह गर्दछु’, उनले भनेका छन् । बिरामी पहिलोपटक भरतपुर अस्पतालमा ल्याइपुर्याउँदा नै प्रतिविष औषधि दिनुपर्ने तहमा विषले असर पुर्याएको कुरा उक्त प्रतिवेदनले किटान गरी उल्लेख नगरेकोले त्यस बुँदामा समेत सहमति नरहेको उनले बताए । ‘त्यसैले, अपरिपक्व र अपूरो निर्देशनले बच्चाको मृत्यु भएको मेरो ठहर छ’, उनले भने । प्रतिवेदनमा छानबिन एवं सुझाव समितीले ‘घटनाका दोषी’ भन्ने उपशीर्षक अन्तर्गत जसको निर्देशन शिरोपर गरी प्रतिविष औषधि नदिई रिफर गरियो, उक्त डा. को लिखित बयान नै समावेश नगरिएको भन्दै कल अन ड्युटीमा रहेका बालरोग विशेषज्ञ डा. उन्नत श्रेष्ठसँग इमर्जेन्सी विभागमा अन ड्युटीमा रहेका डा. महेन्द्र पन्तको संवाद भएपछि डा. श्रेष्ठकै निर्देशनमा प्रतिविष औषधि उपचार सुरू गरि हाल्नुपर्ने प्रकृतिको बिरामीलाई बिना उपचार, बिनातयारी नै प्रतिविष औषधि उपलब्ध नहुने स्वास्थ्य संस्थामा रिफर गरिएको कुरा प्राप्त प्रमाण र बयानबाट जगजाहेरै छ ।’
बालरोग विषेशज्ञ डा. उन्नत श्रेष्ठले फोन संवादकै भरमा, बिरामीको प्रत्यक्ष निगरानी नै नगरी, बयानमा विषका कुनै लक्षण नै नदेखिएको भनी उल्लेख गरिएका बिरामीलाई रिफर गर्न निर्देशन दिने डा. उन्नत श्रेष्ठबाट पनि लापरर्बाही भएको कुरा प्रतिवेदनमा उल्लेख नभएको उनले बताए । ‘पीडितलाई राहत’ शीर्षकको पहिलो बुँदामा सहमत भए पनि दोस्रो बुँदामा उल्लेख गरिएको राहत रकम प्रस्ट नभएकोले म दोस्रो बुँदामा उल्लेख गरिएका कुरामा भद्र असहमति जाहेर गर्दछु’, उनको नोट अफ डिसेन्टमा उल्लेख छ, । जारी प्रतिवेदनले उक्त घटना मानवीय त्रुटि वा लापर्बाही के कारणले भयो भन्ने कुरासमेत खुलाइएको छैनन् । “बिरामीलाई श्वासप्रश्वास सहज बनाउन अन्य अस्पताल मा रिफर गर्दा प्रतिविष औषधि विना नै रिफर गरिनु गम्भीर त्रुटि भएको उल्लेख नगरिनुमा आफ्नो विमती रहेको उनले बताए ।
भएको के हो ?
भरतपुर महानगरपालिका वर्डा नम्बर १५ बस्ने ३ बर्षीया बालक सलिन बि.क. लाई सर्पले टोक्यो । सुतिरहेका बालकलाई सर्पले टोकेपछि रोएका थिए । बालक रोएलगत्तै परिवारले उनलाई मोटरसाइकलमा हालेर भाद्र २१ गते बिहान ३ बजेर ३९ मिनेटमा भरतपुर अस्पताल ल्याइएको थियो । आकस्मिक कक्षमा घटना विवरण सुनाएर तत्काल उपचार गर्न अनुरोध गरेपनि विषको लक्षण नदेखिएको तर सर्पदंश भएको चिकित्सकहरुले स्वीकार गरेका छन् । पीआईसीयू खोजी गर्दै कलेज अफ मेडिकल साइन्सेस, नारायणी सामुदायिक अस्पताल, निको चिल्ड्रेन अस्पताल, चितवन मेडिकल कलेजमा पीआईसीयू कक्ष खाली नभएको, सरकारी अस्पतालमै सर्पदंशको उपचार हुने भन्दै फर्काएपछि बिरामीलाई पुनः भरतपुर अस्पताल मै पुर्याइएको थियो । त्यसपछि प्रतिविष (एन्टी स्नेक भेनम) औषधि दिदा समेत सुधार नभएपछि बालक सलिनले बेलुकीको ४ बजेर ४३ मिनेटमा सधैंका लागी संसार भरबाट बिदा लिए । अस्पताल धाउँदाधाउँदै समय गुज्रिएपछि बेलैमा उपचार नहुँदा बालकको ज्यान गएको थियो ।