चितवन प्रहरीको नि:शुल्क हटलाइन सेवा प्रभावकारी बन्दै 

चितवन , ३ असोज । नागरिकलाई सुचना लिन र दिन सहज होस् भनी जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १०० पछिल्लोसमय प्रभावकारी
बन्दै गएको छ । अहिले उक्त हटलाइनमा दैनिक २०० भन्दा बढी घटनाबारे फोन आउने गरेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार सामान्य सूचनाका लागी मात्रै ६ हजार भन्दा बढी फोन आउने गरेको छ । बिशेष गरेर मुग्लिङ्ग –  नारायणगढ सडकखण्डको जामको कारणले धेरै फोन आउने गरेको स्रोतले बताएको छ । त्यसपछि जिल्लामा हुने झै–झगडा , कुटपिट, चोरी, डकैती, जस्ता घटनाबारे जानकारी दिन यस्ता फोनहरु आउने गरेका छन् । सर्वसाधारणले घटनाबारे कन्ट्रोलमा जानकारी गराएलगत्तै प्रहरीको टोली पाँचदेखि १० मिनेटमा घटनास्थलमा पुगेर अनुसन्धान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रयास समेत प्रहरीले गरिरहेको एसपी सुशील सिंह राठौरले बताए । त्यस्को लागी हामीले पोशाकका प्रहरी, सादा पोशाकका प्रहरी, मोटरसाइकल र साइकल सहितका प्रहरीलाई ठाउँठाउँमा खटाएका छौँ । अहिले जिल्लामा ६३ वटा प्रहरी इकाइ मार्फत् ७२२ जना प्रहरी खटिएको उनले बताए । उनले सामान्यतया एक जना प्रहरीले दुई सयदेखि तीन सय नागरिकको सुरक्षा गर्ने प्रचलन रहे पनि चितवनमा एक जना प्रहरीले छ सय देखि सातसय नागरिकलाई सुरक्षा दिने दायित्व रहेको बताए । प्रहरी जनशक्ति जनसंख्याको तुलनामा कम नै भए पनि प्रहरी गतिविधि र सक्रियता बढाइएको बताए । जिल्लामा एउटा महानगरपालिका सहित ६ वटा स्थानीय तह रहेकोले यहाँ हरेक वर्ष जनघनत्व बढ्दै गएको छ । त्यसैले सूचनाका लागी दैनिक २०० देखि २३२ वटा फोन आउने गरेको छ । उनले भने जिल्लाका सबै प्रहरी कार्यालयमा आउने घटनाका फोनलाई जोड्दा दिनमा एक हजार दुई सय भन्दा बढी हुन आउँछ । उनले केही वर्ष अघिसम्म प्रहरीलाई झुक्याउने खालका फोन आउने गरे पनि झुक्याउने तीन जनालाई कारबाही गरेपछि झुक्याउने फोन आउनै छाडेको उनलेे बताए । चितवन जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज, इमेल र एसएमएस सेवा पनि प्रहरीले सञ्चालनमा ल्याएको छ । इमेल, फेसबुकमा पनि दैनिक नागरिकका गुनासाहरु आउने गरेको एसपी राठौरले जानकारी दिए । प्रहरीले सञ्चालनमा ल्याएको टोलटोलमा प्रहरी, प्रहरी हाम्रो साथी, स्कुलस्कुलमा प्रहरी र अपराधमा सहकार्य जस्ता कार्यक्रमले गर्दा पनि नागरिक र प्रहरीबीचको सम्बन्धलाई निकै नजिक र गाढा बनाएको उनले बताए । त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको १०३ नम्बरको फोनलाइनमा पनि दुई तीन मिनेटको फरकमा एक कल फोन आउने गरेको कार्यालले जनाएको छ । घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० र ट्राफिक प्रहरीको लागि १०३ ट्राफिक प्रहरीको लागि सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरका विभिन्न ठाउँमा विभिन्न संघसंस्थाको सहयोगमा ३८ ठाउँमा सीसीटीभी क्यामरामार्फत् प्रहरीले नागरिकको निगरानी राखिरहेको छ ।