निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुरमा फेरि आन्दोलन शुरु

कञ्चनपुर,भदौं ३०(

निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन सुरु भएको छ । घटना भएको ५२ दिनसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि स्थानीयले आन्दोलन थालेका हुन् । भदौ ७ र ८ गते चर्किएको आन्दोलन एसपीसहितका प्रहरी अधिकारी परिवर्तन गरिएसँगै मत्थर भएको थियो। घटना अनुसन्धानका लागि नयाँ टोली पठाउँदा पनि अनुसन्धानमा खासै प्रगति नदेखिएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन्।

डीएनए रिपोर्ट नमिलेको भन्दै दिलीप विष्टलाई रिहा गरिएपछि दबाबमूलक आन्दोलन सुरु गरेका स्थानीयले शनिबार शान्तिपूर्ण प्रदर्शन गरे। विभिन्न महिला अधिकारसम्बद्ध संघसंस्था, आमा समूह र महिलाले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन्।