लागु औषधमुक्त नगर बनाउने अभियान


चितवन, २७ भदौ
सन्देश फाउन्डशन नेपाल भरतपुर महानगर लागु औषध रोकथाम अभियानले मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा लागु औषध विरुद्ध अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा वडा नम्बर २१ वडा अध्यक्ष चित्रसेन अधिकारीले आफूले आजैका दिनदेखि चुरोट र सुर्ती सेवन त्याग गरेको घोषणा गरेका छन् । लागु औषधको बारेमा अन्तरक्रियापछि यसले कसैलाई पनि फाइदा नगर्ने भएकाले आफूले सेवन गर्दै आएको चुरोट र सुर्तिको अम्मल त्यागेको बताउँदै अरुलाई पनि धुमपान र मध्यपानलगायत कुनै पनि लागु औषध सेवन नगर्न आग्रह गरे । वडा नम्बर २१ मा लागु औषधको प्रयोग न्यूनीकरण गर्नका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम लिएर आउने अधिकारीले बताए । लागु औषधका कारण युवाहरुमा समस्या देखिएकोले निर्माणको युगमा युवाहरु स्वस्थ हुनुपर्ने अधिकारीको भनाइ थियो । गृहमन्त्रालय उच्च स्तरीय लागु औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समितिका सदस्य एवम् सन्देश फाउन्डेशनका संस्थापक सदस्य गौरवबाबु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल चितवनका सदस्य विश्व बाँस्तोलाले लागु औषधको दूव्र्यसनीलाई परिवार, समाज सबैले तिरस्कार गर्ने बताए । सो कार्यक्रममा सन्देश फाउन्डेशनका कलाकारहरु गोकुल कंडेल रमेश घतानेले लागु औषध विरुद्धको सन्देशमूलक प्रस्तुती राखेका थिए । सडकबाट उद्धार गरेर सुनौलो बिहानी उपचार केन्द्रमा उपचाररत पूर्व लागु औषध प्रयोगकर्ता बालक मनोज थापा मगरले लागु औषधको प्रयोगले आफ्नो जीवनमा पारेको प्रभावको बारेमा अनुभव सुनाएका थिए । त्यसैगरी, मंगलबार नै पार्वतीपुरमा रहेको अन्नपूर्ण माविमा सचेतनामूलक कार्यक्रम गरिएको अभियानका कार्यक्रम संयोजक दिवाकर श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुलाई लागु औषध र यसको प्रयोगले हुने हानीको बारेमा जानकारी गराउँदै लागु औषध मुक्त समाज निर्माणमा सबैको साथ हुनुपर्ने विषयमा सचेत बनाइएको श्रेष्ठले जानकारी दिए ।