बाल हेल्पलाइन नेपालबाट १९५ बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित

?

चितवन , २४ भाद्र । बाल हेल्पलाइन नेपालबाट चालू आर्थिक वर्षको हालसम्ममा १९५ जना बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । दियालो परिवारद्वारा यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा दैनिक १२ घन्टे बाल हेल्पलाइन सेवाबाट १९५ जना बालबालिका सेवाबाट लाभान्वित भएको संस्थाले दाबी गरेको हो । सोही कार्यबाट ४३ जना बालबालिका लाई मनोसामाजिक मनोविमर्श प्रदान गरिएको दियालो परिवारका अध्यक्ष केदारनाथ खनालले जानकारी दिए । यस्तै, हराएका ६ जना बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराउन सफल भएको उनले बताए । गत वर्ष भदौ २३ देखि हालसम्मको तथ्यांक हेर्दा ४५७ जना बालबालिकाहरुलाई जोखिमपूर्ण अवस्थाबाट उद्धार र संरक्षण प्रदान गर्दै आएको दियालो परिवारका पूर्वअध्यक्ष बद्री अधिकारीले जानकारी दिए । उनका अनुसार २२२ जना बालबालिकालाई भने जोखिमपूर्ण अवस्थाबाट उद्धार र संरक्षण गरी पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ । यस्तै, सोही समयावधिमा मनोसामाजिक समस्या देखा परेका ५२९ जना बालबालिकालाई मनोविमर्श सेवा प्रदान गरिएको उनले बताए । २०६७ सालको भदौ २३ गतेबाट सुरू गरिएको बाल हेल्पलाइन नेपाल १०९८ प्रभावकारी बन्दै गएको उनको भनाइ छ । ‘आपतमा परेका बालबालिकाका लागि काम गर्ने संस्था भएकोले पनि त्यस्ता खालका बालबालिकाका लागि यो सेवा अत्यन्तै प्रभावकारी भएको छ’, उनले भने, ‘भावी दिनहरुमा यसलाई अझ प्रभावकारी बनाउने हाम्रो योजना छ ।’ नेपाल सरकारबाट पनि निरन्तर सहयोग पाइरहेकोले काम गर्न सहज भएको उनले बताए । पछिल्लो समय बालबालिकामाथि हुने गरेका हिंसात्मक गतिविधि कम गर्नका लागि पनि यो सेवा निकै प्रभावकारी भएको उनको भनाइ छ । विभिन्न खालका चुनौतीका बाबजुद पनि काम गर्न सफल भएको भन्दै आगामी दिनमा सबै वर्ग र तहबाट साथ र सहयोग पाए अझ सहज हुने दियालो परिवारले अपेक्षा लिएको छ । यसका लागि विद्यालयस्तरबाटै बालबालिकाको हितका लागि विभिन्न खालका कार्यक्रम आयोजना गरेर जनचेतना फैलाउन सके काम गर्न धेरै सहज हुने अन्य सरोकारवाला निकायले जनाएको छ । ‘सबैभन्दा ठूलो कुरा बालबालिकालाई विद्यालयबाहिर रहनबाट बचाउन सक्नुपर्छ’, शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख दीपेन्द्र सुवेदीले भने, ‘त्यसका लागि यही शैक्षिक सत्रबाट अभियानका रुपमा सुरू गरेको विद्यार्थी भर्ना अभियानले पनि सकारात्मक भूमिका खेलेको छ ।’