लागु औषध विरुद्ध सचेतना कार्यक्रम


चितवन, २० भदौ
लागु औषध विरुद्धको अभियान सञ्चालन गर्दै आएको सन्देश फाउन्डेशन नेपाल भरतपुर महानगर लागु औषध रोकथाम अभियानले आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
केही समय प्राविधिक कारणले रोकिएको अभियान पुनः सुरु गरिएको हो । अभियान अन्तर्गत बुधबार भरतपुर महानगरपालिका वडा नम्बर २५ मा कार्यक्रम गरिएको छ । वडा कार्यालयमा स्थानीय सरोकारवालासँग छलफल पश्चात विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । वडा कार्यालयमा भएको अन्तरक्रियामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले लागु औषधले राष्ट्रलाई नै खोक्रो पार्ने भएकाले यसको रोकथाममा सबै एकजुट हुनुपर्ने बताए ।
समृद्ध नेपाल निर्माणको अभियानमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दैै डल्लाकोटीले अहिलेका युवा पुस्ता लागु औषधको शिकार बन्दा राष्ट्र विकासमा असर पर्ने बताए । चितवन जिल्लालाई लागु औषध मुक्त बनाउनका लागि भरतपुर महानगरपालिका सहित जिल्लाका सबै स्थानीय तह, विभिन्न संघसंस्था तथा नागरिक समाजसँग छलफल गर्न पहल गर्ने डल्लाकोटीले बताए । सो अन्तरक्रियामा नेपाल तरुण दल चितवनका सभापति राजन ताम्राकार, आक्रमण साप्ताहिकका सम्पादक प्रह्लाद उप्रेती, भरतपुर महानगर कार्यपालिका सदस्य पार्वती विक, सन्देश फाउन्डेशन नेपालका सदस्य रञ्जित तिमिल्सीना लगायतले लागु औषध राष्ट्रिय समस्या भएकोले सरोकारवाला निकायले नियन्त्रणको लागि प्रभावकारी नियम बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै वडा नम्बर २५ मा रहेको प्रभात मावि शुक्रनगरमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषध र यसबाट हुने असरको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलले विद्यार्थीहरु देशका कर्णधार भएकाले उनीहरुलाई लागु औषधबाट टाढै राख्नुपर्नेमा जोड दिए । लागु औषध रोग भएको उल्लेख गर्दै भुजेलले विद्यालयमा साथीले खाएको देखेमा चुप लागेर बस्न नहुने भुजेलको भनाइ थियो ।
लागु औषध सेवनकर्ताबाट टाढा रहदै उनीहरुलाई पहिलेको अवस्थामा लिएर आउनका लागि विद्यार्थीहरुले समाजमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भुजेलले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारी, रिकोभरिङ नेपाल महासंघ चितवनका अध्यक्ष ज्ञानुजङ्ग लामालगायतले मन्तव्य राखेका थिए । लागु औषध विरुद्धको अभियान भरतपुरका २९ वटै वडामा सञ्चालन गरिने कार्यक्रम संयोजक दिवाकर श्रेष्ठले जानकारी दिए ।
यस अगाडि भरतपुरका २६, २७, २८ र २९ नम्बर वडाका अभियान सञ्चालन गरिसकिएको उल्लेख गर्दै श्रेष्ठले आगामी भदौ २२ गते शुक्रबार वडा नम्बर २४ मा सचेतना अभियान सञ्चालन गरिने बताए ।