चितवन प्रहरीको अर्को अप्रेसन स् दुई केजी सुन सहित भारतीय नागरिक पक्राउ ।

चितवन , २० भाद्र । चितवन प्रहरीले तिब्बत बाट भित्रिएको अबैध दुई केजी सुन सहित एक भारतीय नागरिकलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानहरूबाट सुनको तस्करी हुने गरेको भन्ने बिशेष सुराकीको आधारमा तीन नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको टोलीबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालबाट खटिएको प्रहरीको विशेष टोलीले सुनचाँदी सहित एक भारतीय अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्गली जिल्ला आटपढे थाना घर भइ भरतपुर महानगरपालिका ०१ पुतलीबजार स्थित बाबुरत्न खड्कीको घर डेरामा बस्दै आएका बर्ष २७ को राजेन्द्र शिवाजी पाटिल रहेका छन् । उनलाई नियन्त्रण लिएर अनुसन्धान गर्ने क्रममा मंगलबार दिउँसोको अन्दाजी १२ बजेको समयमा सुनचाँदी, नगद सहित निजलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरले बताए । राठौरका अनुसार निजले सञ्चालनमा ल्याएको न्यू गणेश सुनचाँदी पसलमा खानतलासी गर्ने क्रममा प्रहरीको टोलीले २ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम चाँदी सहित नगद १२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले गरेको प्रारम्भिक रूपमा
अनुसन्धानका क्रममा अभियुक्तले सो सुन र चाँदी तिब्बतसंग नाका जोडिएको रसुवाबाट अवैध रुपमा भित्र्याईएको खुल्नमा आएको छ । एसपी राठौरले भने, पक्राउ परेका पाटिलले विगत १० वर्षदेखि नारायणगढमा सुन विक्री वितरण गर्ने, रिफाईनिङ गर्ने काम गर्दै आएका रहेछन् । भदौ १८ गते एक भारतीय नागरिकले सो सुन ल्याई दिएको अनुसन्धानबाट खुलेको छ । केही परिमाणमा काँचो सुन विक्री गरिसकेको र बरामद गरिएको सुनचाँदीको अनुमानित मूल्य एक करोड बराबर रहेको खुल्नमा आएको छ । प्रारम्भिक अुनसन्धान पश्चात बरामद गरिएका सुनचाँदी, नगद र पक्राउ गरिएका पाटिललाई भन्सार ऐन २०७४ अनुसार विस्तृत अुनसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने एसपी राठौरले बताए ।