बेपत्ता परिवारलाई विशेष प्राथमिकता दिनुपर्ने


चितवन, १४ भदौ । राज्यले शिक्षा स्वास्थ्य र रोजगारमा बेपत्ता परिवारका सदस्यहरुलाई प्राथमिकता दिनुपर्नेमा बेपत्ता परिवारका व्यक्तिहरुले माग गरेका छन् ।
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको गरिएको छलफल, अन्तरक्रिया तथा द्वीप प्रज्ज्वलन कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आफूहरुको दैनिक गुजारा चलाउनका लागि भएपनि राज्यले व्यवस्था गरिदिनुपर्ने बताएका हुन् । छलफलका क्रममा बेपत्ता परिवारका सदस्य निशा न्यौपानेले मुद्दाहरुलाई राजनीतिकरकण गर्न बन्द गरेर उनीहरुको लागि काम गर्नका लागि राजनीतिक दलसँग बेपत्ता परिवारले माग गरेका छन् ।

चितवन जिल्लामा ३३ जना बेपत्ता भएको उल्लेख गर्दै उनीहरुको परिवारका सदस्यहरुले दैनिकी गुजारा गर्न समेत मुस्किल भएको न्यौपानेको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको आयोजनामा भएको अन्तरक्रियाका क्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बेपत्ता परिवारका पीडा मात्रै उजागर भएको बताए । कार्यक्रममा नेकपा चितवनका नेता नारायण अधिकारीले बेपत्ता परिवारका समस्या समाधानका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले यस सरकारले बेपत्ता परिवारका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशालि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री हरिप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।