३ नम्बर प्रदेशको ट्राफिक कार्यालय भरतपुरमा रहने


चितवन, भदौ १२ –

प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।

भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने भएको छ । एक सातापछि कार्यालय सञ्चालनमा आउने बुझिएको छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो ।

“मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक नविन राईले भने । उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो ।