काँग्रेस चितवनले भोली मंगलबार शक्ति प्रदर्शन गर्ने ।

चितवन , साउन १३ । नेपाली काँग्रेस चितवनले भोली मंगलबार यहाँ शक्ति प्रदर्शन गर्ने भएको छ । सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस चितवनले विरोधस्वरुप जिल्लामा शक्ति प्रदर्शन गर्न लागेको आज नारायणगढमा पत्रकार सम्मेलन गरी जनाइएको छ । काँग्रेसले संविधानले निर्दिष्टि गरेअनुसार सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीबाट हुनुपर्ने व्यवस्थालाई अविलम्ब कार्यान्वयन गराइनुपर्ने, बालकृष्ण ढुंगेललाई आममाफी फिर्ता गराई कानुनी राज्यको प्रत्याभुति दिलाउनुपर्ने, हालै सरकारले अवैधानिक ढंगबाट लागु गरेका करहरु खारेज हुनुपर्ने, स्वतन्त्र मिडिया माथिको हस्तक्षेप बन्द हुनुपर्ने, पेट्रोलियम पदार्थलगायतका जनताका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि घटाउनुपर्ने, साउन ९ गते चितवनमा तीन पाँग्रे सवारी चालक मजदुरमाथि भएको प्रहरी दमन एवंम गोली काण्डको विरोध गर्दै यस्ता समस्याहरुको वार्ताद्धारा समस्या समाधान गराउनु पर्ने लगायतका माग कांग्रेसले अघि सारेको छ । यी सबै कुराहरु पुरा गराउन सरकारलाई दवाब दिन देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । यता, स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस चितवन गणितीय हिसाबले पराजित भएपछि चितवनमा एक नम्बरको पार्टी भएको प्रमाणित गर्न विरोध प्रदर्शनलाई शक्ति प्रदर्शनको रुपमा लैजान लागिएको काँग्रेस सभापति जीतनारायण श्रेष्ठले बताए । उनले कम्युनिष्ट सरकारले गरेका गैर संवैधानिक कार्यहरु र मौलिक हकको हनन्प्रति नेपाली काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यसैको विरोधमा कार्यक्रम गर्न आन्दोलन गर्नुपरेको बताए । उनका अनुसार मंगलबार दिउँसो १२ बजेदेखी विरोध प्रदर्शन सुरु हुने छ । भरतपुरको चौविसकोठी चोकबाट सुरु हुने विरोध र्‍‍याली नारायणगढको पुलचोकमा पुगी कोणसभामा परिणत हुने श्रेष्ठले बताए । सभामा काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ कांग्रेस चितवनले जनाएको छ । यस्तै, कांँग्रेस चितवनले भरतपुर महानरपालिका र रत्ननगर नगरपालिकाले अत्याधिक कर बृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै बिरोध समेत गरेको छ ।

अस्पतालमा सिटी हल निर्माण गर्न नदिने काँग्रेसको चेतावनी ।
उता , नेपाली काँग्रेस चितवनले भरतपुरमा अवस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कुनै हालतमा पनि सिटी हल निर्माण गर्न नदिने चेतावनी दिएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा सिटी हल निर्माण गर्ने निर्णय नेपाली काँग्रेसलाई कुनै पनि हालतमा सह्य नहुने भन्दै अस्पतालको जग्गामा सिटी हल निर्माण गर्ने भरतपुर महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नदिने चेतावनी दिएको हो । नेपाली काँग्रेस जिल्ला समिती चितवनले आज पत्रकार सम्मेलन गरी वीपी कोइरालाको नामबाट नामाकरण भएकाले कम्युनिष्ट सरकारले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा समेत आँखा लगाएर ध्वस्त पार्न खोजेको ठहर काँग्रेस चितवनले गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले महानगरभित्र प्रशस्त जग्गा हुँदा हुँदै क्यान्सर अस्पतालको जग्गामा सिटी हल निर्माण गर्नु खोज्नु गलत भएको बताए । भरतपुर महानरपालिकाले ५ हजार क्षमताको सिटि हल क्यान्सर अस्पताल परिसरको जग्गामा बनाउने तयारी थालेपछि काँग्रेसले विरोध जनाएको हो ।