जलवीरेमा पहिरो खसेपछि मुग्लिङ्ग नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन , ११ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा शुक्रबार दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको हो । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले बताउनुभयो । पहिरो खसिरहेकाले पन्छाउन कति समय लाग्छ भन्न नसकिने उहाँको भनाइ छ । सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समय समयमा पहिरो जाने समस्या देखिएको छ ।