पहिरोको जोखिममा परेका ४५ बस्तीहरु सुरक्षित स्थानमा स्थानान्तरण

चितवन। मुग्लिङ्ग नारायणगढ सडक सुधारको क्रममा पहिरोको जोखिममा परेका बस्तीहरु लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सडकखण्ड सुधारको क्रममा पहाड काटेर बाटो चाक्लो बनाउँदा पहिरो खसेर बस्तीलाई खतरा हुने ठाउँमा घरहरु हटाइएको हो ।
पहिरोको उच्च जोखिममा रहेका सडक किनारका ४५ वटा घरहरुलाई मुआब्जा दिएर उनीहरुलाई सुरक्षित ठाउँमा सर्न लगाइएको नारायणगढ मुग्लिङ सडक सुधार आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले जानकारी दिए । गत वर्षको असारमा संसदको विकास समितिले नारायणगढ मुग्लिङ सडकको स्थलगत अवलोकन गरेपछि पहिरोको जोखिममा रहेका बस्तीलाई हटाउन दिएको निर्देशन अनुसार आयोजनाले त्यस क्षेत्रका घरहरुलाई मुआब्जा दिएर हटाएको हो । पहिरोको जोखिममा रहेका बस्तीलाई दुई किस्ता रकम दिएर हटाइएको उल्लेख गर्दै पहिलो किस्ताको रकम सबैले भुक्तानी पाइसकेको खनालले बताएको छ । घर भत्काउन भन्दा अगाडि घरको मूल्यांकनका आधारमा पहिलो किस्ता बापत एक तिहाई रकम दिइएको तथा दोस्रो किस्ता स्वरुप दुई तिहाई रकम घरलाई भत्काइसकेपछि दिने तयारी भइरहेको उनले बताए । नारायणगढ मुग्लिङ सडक सुधार आयोजनाले पहिरोको जोखिममा रहेका विभिन्न ४५ घरलाई एक करोड ६४ लाख रुपैयाँ मुआब्जा रकम बाँड्ने र संरचनाको मूल्यांकन गर्दै ७४ सालमा नै पहिलो किस्तावापत ४० लाख रुपैयाँ प्रभावितहरुलाई दिइएको थियो । त्यस्तै घर पूर्ण रुपमा हटाएका व्यक्तिहरुलाई यस आर्थिक वर्षमा सडक आयोजनाले करिब ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ । जम्मा मूल्यांकन भएको एक करोड ६४ लाख मुआब्जामध्ये ९५ लाख रुपैयाँ वितरण गरिसकेको आयोजनाले जनाएको छ । सडक आयोजनाले पहिरोको जोखिममा रहेका घरहरुलाई हट्नका लागि प्रति घर ४९ हजार रुपैयाँदेखि १४ लाख रुपैयाँसम्म मुआब्जा दिएको छ । पहिरोको जोखिममा रहेको बस्ती हटाउँदा मुआब्जा बाहेक प्रति घरले विभिन्न शीर्षकमा थप ६० हजार रुपैयाँसम्म प्राप्त गरेको आयोजनाले जनाएको छ ।