समसामयिक विषयमा नेपाल पत्रकार महासंघको अन्र्तक्रिया

नेपाल पत्रकार महासंघको आयोजनामा सोमबार १८ गते राजधानीमा पत्रकार आचारसंहिताको अवस्था र समसामयिक विषयमा अन्र्तक्रिया सम्पन्न भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आयार्यको अध्यक्षतामा आयोजित अन्र्तक्रियामा बोल्नुहुदै पूर्व अध्यक्ष डा. सुरेश आचार्यले अहिलेको रबि लामिछाने प्रकरण दुई किसिमले अघि बढेको बताउनुभयो । पहिलो काउन्सिलको मर्यादामाथि प्रहार र दोस्रो कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठमाथि प्रहार । कार्यक्रमको प्रस्तुति, भाषाशैली हेर्दा पत्रकारितामा विल्कुलै ठीक नरहेको भन्दै उक्त प्रवृतिको निन्दा गर्नुभयो ।वर्गीकरणको कामले काउन्सिलमाथि आक्रमण हुने गरेको, सत्य कुरा बोल्न नमिल्नेगरी समाजमा अराजकता फैलिएको, आचारसंहिता उल्लघंन गर्ने मिडिया हाउसलाई कालो सूचिमा राख्नुपर्नेडा. आचार्यको सुझाव थियो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफू अध्यक्ष नरहेको अवस्थामा २०७५।१।११गते लगायत विभिन्न मितिमा उहाँ रबि लामिछानेबिरुद्ध उजुरीहरु आएको, यसक्रममा उक्त न्युज २४ टेलिभिजनले उपस्थित हुन नसक्ने व्यहोराको पत्र काउन्सिललाई पठाएको वताउनुभयो । पछिल्लो पत्रमा उहाँ रबिले म विदेशी नागरिक होइन, काम गर्ने अनुमति लिएको छु र ढोँगीहरु रहेको संस्था प्रेस काउन्सिलले सिफारिस गरेको प्रेस पास लिनु छैन बरु जुत्ता पालिस गरेर बस्छु र अब उप्रान्त जवाफ पनि दिन्न भनेर धम्कीपूर्ण प्रतिक्रिया दिएपछि काउन्सिलले अन्य निकायलाई बुझ्दा ढाँट, छल गरेको पाइएको, यसपछि काउन्सिलका संस्थागत कामकारवाहीलाई व्यक्तिमा विषयान्तर गरेर संस्थाको गरिमामाथि हमला गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कमाण्डरमाथि आक्रमण भयो भने जे पनि गर्न सक्ने मानसिकताले काम गरेको, पत्रकारहरुलाई राज्य तथा अन्य क्षेत्रबाट आक्रमण भयो भने बचाउने अभिभावक संस्था प्रेस काउन्सिल पत्रकारकाविरुद्ध जान सक्दैन, कतिपय सामाजिक सञ्जालमा आएका विषयमा महासंघ मौन रहेको स्मरण गर्दै जिम्मेवार पत्रकार साथीहरुले सोचेर मात्रै लेख्न आग्रह गर्नुभयो र प्रेस काउन्सिलाई कमजोर बनाउनु भनेको काउन्सिलको काम सरकारकालाई सुम्पिनु हो ।
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीले
उजुरी परेपछि काउन्सिलबाट स्पष्टिकरणको लागि पत्राचार गरिएकोमा धम्कीपूर्ण जवाफ प्राप्त भएकोले मात्रै अन्य निकायमा सोधी खोजी भएको प्रष्टयाउँदै यस्तो असामान्य अवस्था आउनुको पछाडि कि त उनीसंग पत्रकारितासम्बन्धि ज्ञान नै छैन, कि त उनी असामान्य पात्र हुन् । काउन्सिलका कार्यवाहक अध्यक्षमाथि हमलाले काउन्सिलको छविमा प्रहार भएको र उक्त संस्थालाई नै जिम्मेवार बनाउनेतर्फ कारवाही गर्न पूर्व अध्यक्ष कार्कीको सुझाव थियो ।
नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र बिष्टले काउन्सिल संस्थालाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्यको निन्दा गर्दै विषयलाई निरुपन गर्ने नभए कोर्टमा जानुपर्ने सुझाव दिनुभयो ।
नेपाल बार एशोशिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्यले
आफू प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन कमिटिमा रहेको र न्युज २४ लाई पत्राचार गर्दा उपस्थित हुन नसक्ने व्यहोराको जवाफ आएको र पछि धम्कीपूर्ण जवाफ मात्र आएन, प्रेस काउन्सिलको प्रतिष्ठामा आँच पुग्नेगरी छताछुल्ल अभिव्यक्ति आएको भन्दै पत्रकारिताका नाममा भाँडभैलो मच्चाउन नपाईने बताउनुभयो । बार काउन्सिलको आफ्नै आचारसंहिता रहेको, अनुमति पत्रसमेत खारेज गर्ने गरेको तर यसरी कोलाहल नभएको प्रसंग उल्लेख गर्दै यस विषयमा महासंघले अनौपचारिक पहल गर्नुपर्ने सुझाव दिनुभयो । उनी अहिले स्वतः नेपाली नागरिक हुन नसक्ने बताउनुभयो ।
फोनिजका महासचिव मनोज पुनले राष्ट्रियता कमजोर पार्नेगरी गतिविधि भैरहेको, उनीसंग न्युनतम्
पत्रकारितासम्वन्धि ज्ञानको अभाव र नियत पनि खराव रहेको भन्दै उनलाई सम्वन्धित मिडिया हाउसले कारवाही गर्नुपर्ने र संस्था जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । नियामक निकायमाथि हमला गरेर आफू सशक्त बन्ने कुनियतले काम गरिरहेको र यसको निराकरण गर्न महासंघले भूमिका खेल्नुपर्ने उहाँको सुझाव थियो ।
नेपाल प्रेस युनियनका बद्री सिग्देलले प्रेस काउन्सिल पत्रकारहरुको न्यायिक निकाय मात्र होइन त्यहाँका पदाधिकारी पत्रकार मित्रहरु नै हुनुहुने भएकोले यसको गरिमा र सम्मानमा आघात पुग्ने कार्य कोही कसैबाट हुन नहुनेमा जोड दिँदै कानुन सवैले पालना गर्नुपर्ने र पत्रकारहरु एकआपसमा लडेर दुनियाँलाई नाटक देखाउनु उपयुक्त नहुने धारणा राख्नुभयो । त्यस्ता गलत प्रवृत्तिलाई पाठ सिकाउँदै प्रकारणलाई छिटै अन्त्य गर्नुपर्ने बताउनुभयो ।
छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले मिडिया हाउस जिम्मेवार, पत्रकार आचारसंहिता महासंघको सहमतिमा जारी भएको हुँदा सोको गम्भीर उल्लघंन भएको अवस्थामा महासंघले तत्काल एक्शन लिन आग्रह गर्नुभयो । यो प्रवृति बिष हो, भेटाएसम्म सवैलाई सिध्याउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले महासंघको कुनैपनि शाखाबाट सदस्यता नलिएको, प्रेस पास पनि नलिएको भएपनि पत्रकारिता गर्न सकिने देखिन्छ । तर प्रेस काउन्सिलको कामकारवाहीलाई धम्की दिनु दूर्भाग्यपूर्ण रहेको धारणा राख्नुभयो । मिति ः २०७५ असार १८ गते ।