मदन भण्डारी फाउण्डेशनले फलफूलको बगैंचा तयार पार्ने

भरतपुर, १३ असार
राष्ट्र र समाजलाई उत्पादनसँग जोड्ने अभियानका साथ मदन भण्डारी फाउण्डेशन चितवनले फलफूलको बगैंचा तयार पार्ने भएको छ । भोलि असार १४ गते बिहीबार स्वर्गीय मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर फाउण्डेशनले यो अभियानको शुरुवात गर्न लागेको हो ।
कालिका नगरपालिकामा रहेको थाङखोला सामुदायिक वनमा फलफूलको बगैंचा तयार पर्न लागिएको फाउण्डेशन चितवनका अध्यक्ष डा। तिलचन्द्र भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार भोलि उक्त सामुदायिक वनमा शुरुवातको रुपमा कागती र एबोगार्डो गरी चार सय विरुवा रोपिने छ । प्रदेश नं। ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा बिहान ८ बजे कार्यक्रम हुने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
उक्त सामुदायिक वनको खाली जमिनमा क्रमशः फलफूलका विरुवा रोप्ने योजना रहेको छ । करिब चार विगाहा जमिनमा फलफूलको बगैंचा तयार पर्ने योजना रहेको छ । फाउण्डेशनले विरुवा रोप्ने र आवश्यक प्राविधिक सहयोग गर्ने छ भने थाङखोला वन उपभोक्ता समूहले त्यसको संरक्षण गर्ने छ । फलफूल बगैचाको आम्दानी र स्वामित्व भने सामुदायिक वनको नै हुनेछ ।
फाउण्डेशन चितवनका बरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद सुवेदीले फाउण्डेशनले सामाजिक कार्यका साथै उत्पादनका क्षेत्रमा पनि काम गर्ने बताउनुभयो । उपाध्यक्ष सुवेदीले गोष्ठी, सेमिनार गरेर समय वर्वाद गर्नुभन्दा उत्पादनशील क्षेत्रमा काम गर्न सके राष्ट्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।
फाउण्डेशनका सचिव श्याम बिष्ट आम जनसमुदायलाई वृक्षारोपण कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले हरेक क्रियाकलापलाई उत्पादनसँग जोड्ने हुँदा उदाहरणीय कार्य हुने बताउनुभयो ।
जननेता मदन भण्डारीको जन्म २००९ साल आषाढ १४ गतेका दिन पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो ।