चितवनमा लागूऔषधविरूद्ध साताब्यापी सचेतना कार्यक्रम सुरु ।

चितवन । भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई लागूऔषधविरूद्ध साताब्यापी सचेतना कार्यक्रम बुधबारदेखि सुरु भएको छ । जिल्लाका विभिन्न सरकारी निकायको पहलमा साताव्यापी सचेतना कार्यक्रम गरी लागूऔषध दुरुपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने भएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले लागूऔषध दुव्र्यसनविरूद्ध साताव्यापी सचेतना कार्यक्रम समेत सार्वजनिक गरेको छ । साताव्यापी सचेतना कार्यक्रमअन्तर्गत आज बिहीबार औषधि व्यवसायी समितिले उद्योग बाणिज्य संघ चितवनमा सचेतना कार्यक्रम गर्ने भएको छ । त्यस्तै , पर्सी शुक्रबार चितवनको सिनेमा हलहरुमा चलचित्र प्रदर्शन हुनुपूर्व लागूऔषधविरुद्ध सूचना सन्देश प्रशारण गर्ने कार्यक्रम समेत तय भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । त्यस्तै , शुक्रबारदेखि आउँदो आइतबारसम्म रिकभरी नेपालले विभिन्न स्कुलमा ९ र १० का विद्यार्थीलाई लागूऔषध दुव्र्यसनीबारे सचेतना दिने छ । आउँदो शनिबार जनस्वास्थ्य कार्यालय भरतपुरले जिल्लाका विभिन्न औषधिका फार्मेसीहरुको अनुगमन गर्नेछ । शनिबार नै भरतपुर महानगरपालिकाबाट वडा नं २० को चनौली बजारमा युवा सचेतना कार्यक्रम आयोजना हुने सहायक प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले जानकारी दिए । यसैगरी , आउँदो आइतबार जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले गाँजा फँडानी गर्ने कार्यक्रम समेत तय गरेको छ । आउँदो सोमबार शिक्षा विकास तथा समन्वय इकाइको पहलमा माध्यमिक विद्यालयका विद्यार्थीबीच लागूऔषधविरुद्ध अन्तर माध्यमिक बिद्यालय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ र, असार १२ गते बिहान प्रभातफेरी कार्यक्रम र जिल्ला समन्वय समितिको हलमा सचेतना अन्तक्र्रिया कार्यक्रम आयोजना गरी साताव्यापी कार्यक्रमको समापन गर्ने प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले लागूपदार्थ दुव्र्यसनीको संख्या बढ्दै गएको र यसले समाजमा विकराल अवस्था ल्याउने बताए । उनले लागूपदार्थ दुव्र्यसनीको समस्या समाजमा झन्झन् बढ्दै गएको हुनाले यसको न्यूनीकरणमा सबै जिम्मेवार हुनुपर्नेमा औंल्याए । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, पुनस्र्थापना केन्द्रका प्रतिनिधिहरु, र सरकारी कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार साताव्यापी सबै कार्यक्रम लाई पत्रकार महासंघ चितवन शाखाको पहलमा समाचार सम्प्रेषण गराइ जनमानसमा सन्देश प्रवाह गरिनेछ । हरेक वर्ष जुन २० का दिन लागूऔषध दुरुपयोग तथा ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिएको छ ।