​बैंकरहरु नै हुन्डी धन्दामा

काठमाडौं, ५ असार । सुन तस्करीको अनुसन्धान गर्ने क्रममा केही हुन्डी कारोबारीहरुको समेत सात्तो गएको छ । सुन तस्करीको पैसा हुन्डीमार्फत् पुग्दै आएको थियो र त्यसमा केही नाम चलेका व्यक्तिहरुको समेत संलग्नता खुलेको छ ।
स्रोतका अनुसार त्यसमा ‘क’ वर्गका वाणिज्य बैंकका सञ्चालकहरु समेत छन् । रेमिटेन्सको समेत कारोबार गर्ने ती व्यक्तिहरुले रेमिटेन्स कम्पनीकै आडमा अवैध रुपमा हुन्डीको समेत कारोबार गर्दै आएका हुन् । तर, उच्च तहको राजनीतिक दबाबका कारण प्रहरीले ती उच्च पदस्थ व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

पटक–पटक सोधपुछ गरिए पनि राजनीतिक दबाबकै कारण कारबाहीमा तान्न नसकिएको स्रोत बताउँछ ।
स्रोतका अनुसर विदेशमा शाखा खोलेर काम गरिरहेका अधिकांश कम्पनीका कर्मचारी तथा सञ्चालकहरु हुन्डीको कारोबारमा संलग्न रहेको पाइएको छ । कारोकारको गोपनियता कायम गर्नका लागि धेरैले हुन्डीलाई रोज्ने गरेका छन् ।

सुन तस्करीमा थप को–को पर्दैछन् रु
सुन तस्करीको अनुसन्धानका लागि गठित विशेष अनुसन्धान टोलीको म्याद असार मसान्तसम्म थपिएपछि थप व्यक्तिहरु त्रसित भएका छन् ।
मोहन अग्रवाल र चुडामणि उप्रेतीसँग मिलेर सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरु अझै धेरै रहेको स्रोत बताउँछ ।
त्यसकारण आफूहरु पनि पक्राउ पर्ने डरले कतिपय व्यक्तिहरुले देश छाडिसकेका छन् । जसमा अवकाश प्राप्त केही प्रहरी अधिकारीहरु समेत रहेको स्रोत बताउँछ, दृष्टिमा उल्लेख छ ।
त्यस्तै तस्करहरुसँग केही पत्रकारहरु समेत तानिने सम्भाबना प्रबल रहेको टोलीका एक अधिकारी बताउँछन् । अनुसन्धानको घेरामा रहेका पत्रकारहरुको नाम गोप्य राखिएको छ ।