सुन तस्करी काण्डमा कायस्थलाई जोगाउन पुर्ब आईजीपि उपेन्द्रकान्तको अबरोध

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा ठोस प्रमाण नै फेला नपरेपछि प्रहरीको अनुसन्धान र छानविन समिती पुर्वाग्राहि बनेको आरोप लागेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष छानबिन समितिमा रहेका एसएसपी वसन्त लामाले तस्करीमा मुछिएका पूर्व एआईजी विजयलाल कायस्थलाई उन्मुक्ति दिलाउन भूमिका खेलेको स्रोतले बतायो ।

सुन तस्करी र शाक्य हत्याका मुख्य नाइके गोरे भन्ने चुँडामणी उप्रेतीसँग एयरपोर्टमा छँदा देखि नै एसएसपी श्याम खत्रीले साँठगाँठ गरेका थिए । खत्री र गोरे अहिले फरार छन् । खत्री एयरपोर्टमा रहँदा उनका हाकिम थिए तत्कालिन डिआईजी विजयलाल कायस्थ । कायस्थ १६ महिनासम्म सुन तस्करहरुकै सेटिङमा एयरपोर्टमै बसेका थिए । कायस्थका हरेक आदेश खत्रीले पालना गर्दै आएका थिए । तर, अहिलेसम्म पनि समितिले कायस्थलाई बयानका लागि बोलाएको छैन ।

लहरो तान्दा पहरो गर्जने भनेझैं कायस्थलाई आदेश दिने तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्याल पनि सुन तस्करी काण्डमा तानिने भएपछि कायस्थमाथि अनुसन्धान हुन सकेको छैन ।
खत्री र गोरेलाई पक्राउ गर्न समिती असफल हुनु, सम्पूर्ण आदेश दिने र एयरपोर्टमा सुरक्षाको नेतृत्व गरेका कायस्थमाथि अनुसन्धान शुरु नगर्नु नै समितिको पूर्वाग्रहि कार्य भएको प्रहरीका एक उच्च अधिकारी दावी गर्छन् । कायस्थले एयरपोर्टमा रहँदा गोरेको सूचनाको आधारमा युवतीहरुलाई नै सुराकी राखेर झण्डै ४० किलो सुन बरामद गरेका थिए । गोरेको सूचनाको आधारमा सुन बरामद गर्दा भुजुङ गुरुङसँग मिलेर गोरेले नै टनका टन सुन तस्करी गरेका थिए । त्यसमा कायस्थको पनि मिलेमतो रहेको समिति स्रोत बताउँछ ।

एसएसपी लामा र कायस्थबीच राम्रो सम्बन्ध रहेको र पर्दा पछाडिबाट पूर्व आईजीपी अर्यालले लामा, समितिका डिएसपी सुदिप पाठक र इन्सपेक्टर भिष्म हुँमागाईंलाई दवाव दिएका कारण सुन तस्करीको अन्तिम छानविन नै अपलपत्र परेको छ । समितिमा रहेका गृहका सह सचिव इश्वर पौडेल पनि यो प्रकरणमा चुकेका छन् । उनीहरुको काम गोरे र खत्रीलाई पक्राउ गर्नु भन्दा पनि पक्राउ परेकालाई बढाई चढाई गरेर मिडियामा एकोहोरो चरित्र हत्या मात्र गराउनु रहेको छ ।

त्यसो त अनुसन्धान नै पूर्वाग्रही भएको भन्दै वरिष्ठ अधिवक्ता सुशील पन्त, पूर्व महान्यायधिवक्ता रमन श्रेष्ठ र वरिष्ठ अधिवक्त यदु खनालले प्रतिवादी प्रहरीहरुलाई थुनामा राख्न वा धरौटीमा छाड्न समेत भरपर्दो प्रमाण नभएको हुँदा साधारण तारेखमा छाड्नुपर्ने इजलास समक्ष माग गरेका थिए । सुन तस्करीमा विगत देखि नै मुछिदै आएका फरार एसएसपी श्याम खत्री र पक्राउ परि मुद्दा चलाइएका अन्य प्रहरीहरुलाई एउटै दाजोमा राखेर समितिले गलत सूचना प्रवाह गरिरहेको छ । जुन सरासर गलत रहेको ति प्रहरी अधिकारी बताउँछन् । यूआजको युनाइटेड पोस्ट साप्ताहिकमा यो खबर छ ।