ठेकेदारको लापरबाहीको कारण स्वास्थ्य चौकीको भवन निर्माण अलपत्र

 

चितवन, २५ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाको पहाडी गाउँ लोथरमा निर्माणाधिन स्वास्थ्य चौकी ठेकेदारको लापरबाहीको कारण अलपत्र परेको छ ।

गत असोज महिनाभित्र काम सकिनुपर्ने भएपनि ठेकेदारले काम गर्न बन्द गरेपछि चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ मा निर्माणाधिन स्वास्थ्य चौकीको काम अधुरो भएको नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
सर्वसाधारण जनताको प्राथमिक उपचारका लागि लक्षित गरेर ग्रमीण क्षेत्रमा खोलिने स्वास्थ्य संस्था निर्माणको काम अलपत्र हुँदा सर्वसाधारणहरु स्वास्थ्य सेवाबाट समेत बन्चित हुने अवस्थामा छन् ।

साविकको लोथर गाउँ विकास समिति वडा नम्बर ३ मा पर्ने लोथर स्वास्थ्य चौकीको नयाँ भवन बनाउने जिम्मा पाएका ठेकेदारले काम नगर्दा भवन निर्माण सम्पन्न हुन नसकेको हो । स्वास्थ्य चौकीको नयाँ भवन निर्माण नहुँदा स्वास्थ्य चौकीबाट प्राप्त हुने सबै सेवाहरु सहज रुपमा पाउन गाह्रो भएको स्थानीय हरिबहादुर तामाङ बताउँछन् ।
चितवनका ठेकेदार होमनाथ दाहालले स्वास्थ्य चौकी निर्माण गर्ने ठेक्का पाएपछि उनले कमीसन खाएर अर्का ठेकेदारलाई निर्माणको जिम्मा लगाउँदा भवन निर्माण अलपत्र परेको तामाङको भनाइ छ ।

‘सुरुमा एउटा ठेकेदारले काम गर्ने जिम्मा पायो, पछि उसले अर्को पिटी ठेकेदारलाई काम दिँदा भवन निर्माण नियमित भएको छैन’ तामाङले भने, –‘यहाँ काम गर्नको लागि कामदारहरु दुई दिन आए भने दुई हप्ता आउँदैनन् ।’

स्वास्थ्य चौकी निर्माण हुने बेलामा आयोजनाको सबै विवरण खुलेको बार्ड सार्वजनिक ठाउँमा देखिने गरि राखेको भएपनि अहिले बोर्ड पनि नभएको र निर्माण सक्नुपर्ने मिति सात महिना टरिसकेको तामाङले बताए ।
दुई तले पक्की भवनमा १२ वटा कोठा रहने गरि एक करोड २५ लाख रुपैयाँमा दुई वर्ष्भित्र काम सक्ने सम्झौता सहित २०७२ असोज महिनामा स्वास्थ्य चौकी निर्माणको काम सुरु भएको राप्ती नगरपालिका वडा नम्बर १२ का अध्यक्ष अर्जुन चेपाङ बताउँछन् । स्वास्थ्य चौकी भवन निर्माण समयमा नै सक्नको लागि आफूहरुले ठेकेदारलाई भनिराखेको चेपाङ बताउँछन् । ठेकेदारलाई फोन गर्दै काम गर्न दबाब दिएपछि कामदार पठाउने गरेको भएपनि कामदारले ठेकेदारबाट ज्याला नपाउँदा कामदारहरु भाग्नाले भवन निर्माण अधुरो भएको चेपाङको भनाइ छ ।
‘मैले नियमित रुपमा फोन गर्दै ठेकेदारलाई कामदार पठाउन आग्रह गरिरहेको छु’ चेपाङले भने, –‘तपाईँलाई काम गर्दा कुनै समस्या छ भने मलाई भन्नुस् त्यो समाधान गराउनेछु भनेर भन्दा समेत ठेकेदारले काम गर्छु भन्दै टारिरहेको छ ।’

आफूलाई कानुनी उपचार खोज्न बाध्य पर्ने अवस्थासम्म नपु¥याउन भन्दै ठेकेदारलाई चाँडै नै काम सकाउन दबाब दिइरहेको चेपाङको भनाइ छ । आफूले कानुनी उपचारको कुरा गरेपछि ठेकेदारले काम गर्छु चाँडै सक्छु भन्दै दुई चार दिन मान्छे पठाउने र पछि फेरि वास्ता नगर्ने गरेको चेपाङले बताए ।
स्वास्थ्य चौकीको भवन समयमा नै निर्माणसम्पन्न नभएपछि चाँडो काम सक्न राप्ती नगरपालिकाले समेत ठेकेदारलाई नियमित ताकेता गरिरहेको नगर प्रमुख प्रभा बराल बताउँछिन् ।

ठेकेदारले अटेरी गरि भवन निर्माणको काम पूरा नगरेमा कार्यपालिका बैठकले निर्माण गरि कानुन बमोजिम कारबाही गर्ने बरालको भनाइ छ । ‘सकेसम्म हामीले सहज रुपमा काम सम्पन्न हुने वातावरण मिलाउने हो’ बरालले भनिन्, –‘यदी ठेकेदार पक्षले हाम्रो आग्रहलाई बेवास्ता गर्छ भने हामी कानुन बमोजिम कारबाही गर्न बाध्य हुनेछौँ ।’
लोथर स्वास्थ्य चौकीको पुरानो भवनबाट प्रसुती तथा अन्य प्राथमिक सेवाहरु प्रदान भइरहेको भएपनि स्थान अभावको कारण उपचारमा समस्या भएको कर्मचारी बताउँछन् । स्थानीय स्तरमा समेत जनप्रतिनिधि आएको अवस्थामा जनताले अनुभूति गर्ने गरि सेवा पाउनुपर्नेमा आधारभूत सेवाबाट समेत बन्चित हुनुपर्ने अवस्था आएको छ ।