पर्याप्त धावन मार्ग नहुँदा भरतपुर विमानस्थलमा विमान अवतरण गराउन समस्या

 

चितवन, २५ वैशाख । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ ।विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ ।

यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नु परेको छ । उनीहरुले समयमा टिकट नपाउने समस्या समेत झेल्दै आएका छन् ।

धावन मार्गको पूर्वतर्फ मापदण्ड विपरीतका संरचना निर्माण भएका कारण हाल रहेको धावनमार्गको पूरै प्रयोग गर्न विमान चालकले सकिरहेका छैनन् । एक हजार २०० मिटर लामो धावनमार्गमा एक हजार मिटरमात्रै प्रयोग गर्नुपर्ने बाध्यता रहेको चालकले बताएका छन् ।

यति एयरलाइन्स भरतपुरका प्रबन्धक राजेश सिंह कम्पनीको ३० सिट क्षमताको जेटस्टिम विमानले धावन मार्ग छोटो भएका कारण २३ जनासम्म यात्रु बोक्दै आएको बताउनुहुन्छ । अहिले प्रयोग भइरहेको धावन मार्गको अवतरण क्षेत्रमा बनाइएका संरचनाका कारण पूरै धावन मार्गको प्रयोग हुन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।

“विमान कम्पनीलाई नोक्सान हुँदै आएको छ । साना विमानमा थोरै यात्रु बोक्नु पर्दा धेरै उडान गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो ।

बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्त बस्नेतले धावन मार्ग छोटो हुनु र विमान अवतरण क्षेत्रमा मापदण्ड विपरीतका संरचनाका कारण क्षमताअनुसारको यात्रु बोक्न समस्या हुने गरेको बताउनुभयो । “उच्च तापक्रम र पर्याप्त धावन मार्गको अभावमा क्षमताअनुसारको यात्रु बोक्न कठिन भएको छ,” उहाँले भन्नुभयो ।

बुद्ध एयरलाइन्सले ४७ सिट क्षमताको एटिआर ४२ मार्फत उडान गर्दै आएको छ । ठूला जहाज अवतरण नहुँदा एक दिनमा ११ वटासम्म उडान गर्नुपर्ने बाध्यता रहेको बस्नेतको भनाइ छ । ठूला जहाज अवतरण गर्न सकिएमा थोरै उडानले सस्तो भाडादरमा सेवा दिन सकिने उहाँ बताउनुहुन्छ ।

काठमाडौँबाट ५० नटिकल माइल दूरीमा रहेको भरतपुर विमानस्थलमा उडान भर्दा यात्रुले रु तीन हजार ६०० भाडा तिर्न बाध्य छन् । बढ्दो शहरीकरण, हवाईचापमा वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँघुरो बन्दै गएको भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले बताउनुभयो । विसं २०१५ देखि सेवा शुरु गरिए पनि विधिवत् रुपमा २०१८ सालमा तत्कालीन हवाई सेवा विभागअन्तर्गत भरतपुर हवाई कार्यालय स्थापना भएको हो ।

विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएपनि विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै नेपाली सेनाको घोडा फार्म रहेको क्षेत्रको माग गरिएपनि सेनाले अनुमति नदिएको गौतमको भनाइ छ । विसं २०७२ मा सेनासँग जग्गा माग गर्दै पत्र पठाएपनि दिन नसक्ने जानकारी गराएको उहाँले बताउनुभयो ।

विमानस्थलको क्षेत्र बढाउन सेनाको घोडा प्रजनन केन्द्र रहेको ब्यारेक उपयुक्त मानिएको छ । सेनाले शहरबाट २५ किलोमिटर टाढा विमानस्थल राख्न सके राम्रो हुने तर्क राख्दै आफूले प्रयोग गर्दै आएको जमिन दिन नसक्ने जवाफ दिएको गौतमले बताउनुभयो ।

सेनासँग सो ठाउँमा करीब २३ बिगाहा जमिन छ । सेनाले ठाउँ दिएमा ४०० मिटर धावन मार्ग विस्तार गर्न सकिने गौतम बताउनुहुन्छ । धावन मार्ग विस्तारपछि ७५ सिट क्षमताका विमान अवतरण गराउन सकिने छ । भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा दैनिक औसतमा ५०० यात्रुले यात्रा गर्दै आएका छन । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । यतिको जेट स्ट्रिम र बुद्ध एयरको बीचक्राफ्ट, एटिआर–४२ जस्ता आधुनिक विमानले उडान भर्ने गरेको विमानस्थलका प्रबन्धक गौतमले बताउनुभयो ।

बैसट्ठी बिगाहा क्षेत्रफलमा रहेको उक्त विमानस्थल वरपर मापदण्डविपरीत अग्ला घर हुनु र क्षेत्र विस्तारका लागि पर्याप्त जग्गा नभएकाले समस्या बढ्दै गएको छ । सानो जहाजलाई लक्ष्य गरी बनाइएको विमानस्थलमा विस्तारै मझौला जहाज आउने क्रम बढेको छ । विमानस्थललाई फराकिलो बनाउन पहल नगरे सुरक्षा खतरा निम्तिने गौतमको भनाइ छ ।

अग्ला घरका रकाण विमान अवतरण र उडान प्रभावित हुँदै आएको छ । अग्ला घरकै कारण विमानले पूरा धावनमार्ग प्रयोग गर्न पाएका छैनन् । धावनमार्ग २०० मिटर छोडेर विमान अवतरण गरिँदै आएको छ । साना जहाजलाई उडान र अवतरणमा ६०० देखि ८०० मिटर धावनमार्ग भए पुग्छ । ठूला जहाजलाई भने एक हजार ४०० मिटर जरुरी पर्छ । हाल धावन मार्गको लम्बाई एक हजार २०० मिटर मात्र छ । हुस्सु लागेका बेला अग्ला घरका कारण विमान अवतरण र उडानमा समस्या हुने गरेको छ ।

भरतपुर विमानस्थलको धानवमार्ग विस्तार गरी ठूला विमान अवतरण हुन सकेमा यहाँका यात्रुले सहज र सस्तो मूल्यमा यात्रा गर्न पाउने छन् । यात्रा सुरक्षित हुनेछ । मुख्य रुपमा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने र विस्तारका क्रममा रहेकाले हवाई यात्रुको चाप ह्वात्तै बढेको छ । रासस