प्रचण्ड महिनामै २५ पटकभन्दा बढी पुग्छन् यो ठाँउमा

काठमाडौं, २३ वैशाख । चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको । अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन् । निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा दाहाललाई लिने गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले यो समाचार छापेको छ ।

जिल्लामा हुने सानादेखि ठूला कार्यक्रममा दाहाल आउने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रलाई लक्ष्य गरेर पनि उनले आगमन बढाएका हुन् । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि जिल्लामा उनको दौडधुप निकै बढेको छ । विद्यालयको वार्षिकोत्सवदेखि संघसंस्थाका साधारणसभामा सम्बोधन र उद्घाटनमा दाहाल बढी व्यस्त हुने गरेका छन् । यसअघि जिल्लास्तरकै नेता सहभागी हुने कार्यक्रममा पनि दाहालको सहभागिता बढेको छ ।

दाहाल चितवन आउँदा विभिन्न पक्षसँग अन्तरक्रियासमेत गर्दै आएका छन् । कतिपय अवस्थामा उनी सातामा दुई पटकसम्म जिल्ला आउने गरेका छन् । ‘ राष्ट्रिय कार्यक्रममा आउँदा पनि अलि बढी चितवन आएको हो कि भनेर केन्द्रमा चर्चा हुन्छ’, दाहालले भने, ‘जिल्लामा आउनुको मेरो उद्देश्य विकास योजना बनाउनेसँग सम्बन्धित छ ।’

मंसिर २ गतेबाट निर्वाचनका लागि उनी चितवनमा थिए । विजयी भएर २८ गते राजधानी फर्किएका दाहाल त्यसपछि पटक–पटक जिल्ला आउन थालेका हुन् । मंसिरमा जितेर गएपछि पुसमा मात्रै उनी सातामा तीन पटकसम्म चितवन आए । माघमा चार र फागुनमा दुई पटक आए पनि लामो समय जिल्लामै रहेर विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । चैत २० देखि २९ गतेसम्म तीन पटक जिल्ला आए । त्यस क्रममा पनि उनले थुप्रै कार्यक्रममा सहभागिता जनाए ।

वैशाखमा मात्रै एक सातामा दुई पटक आए । ६ महिनामा उनी २५ पटकभन्दा बढी आउजाउ गरे । ‘म रिल्याक्स गर्न चितवन आएको होइन । हरेक पटक कुनै न कुनै ठाउँ पुगेर विकासको सम्भाव्यताको अध्ययन गरेको छु’, दाहालले भने, ‘ मध्यभागमा रहेको चितवनलाई समातेर देशकै लागि विकासको मोडेल तयार गर्न मेरो ध्यान केन्द्रित छ ।’

निरन्तर जिल्ला आए पनि समग्र विकासका लागि दाहालको आगमन केन्द्रित भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताए । ‘उहाँ चितवन मात्रै केन्द्रित हुनेभन्दा पनि देशकै मध्यभाग भएकाले यहाँबाट नयाँ सन्देश दिन खोज्नुभएको छ’, भट्टराईले भने, ‘वरिपरिका जिल्ला समेटेर मास्टर प्लान बनाउन खोज्नुभएको हुँदा बढी आउजाउ भएको हो ।’

पहिले विपक्षीको कडा आलोचना गर्ने दाहालले आफ्नो प्रस्तुतिमा समेत परिवर्तन गरेका छन् । सार्वजनिक कार्यक्रममा राजनीतिक प्रसंग खासै कोट्याउन चाहन्नन् उनी । पत्रकार सम्मेलनमा मात्रै उनले राजनीतिक घटनाक्रमका विषयमा बोल्ने गरेका छन् । गृहजिल्ला भनिए पनि प्रतिनिधिसभाको चुनावमा मात्र उनले पहिलो पटक चितवनबाट उम्मेदवारी दिएका हुन् । चुनावअघि उनी प्रधानमन्त्री हुँदा विभिन्न विकासे कार्यक्रम जिल्लामा लक्ष्य गरेका थिए ।

रोल्पा, सिरहा र काठमाडौंबाट निर्वाचन लडिसकेका दाहालले चितवनलाई सुरक्षित स्थायी राजनीतिक थलो बनाउन खोजेको बताइएको छ । ६ महिनाको अवधिमा मात्र उनी तीन पटक माडी पुगेका छन् । बाँदरमुढे घटनाले माओवादीको सशस्त्र द्वन्द्वकाल सबैभन्दा बढी आलोचित थियो ।