अखिल (क्रान्तिकारी)ले ३३ औं मित्रमणी दिवस रामपुर क्याम्पसमा मनायो

आचार्यको स्मृतिमा वाचनालय स्थापना गर्ने घोषणा

चितवन,बैशाख १८

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पस पुगेर ३३ औं सहिद मित्रमणी आचार्य स्मृति दिवस मनाएको छ । चितवनको रामपुर स्थित रामपुर कृषि क्याम्पस सहिद मित्रमणी आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो ।

आज मंगलबार क्रान्तिकारीको केन्द्रीय समितिद्धारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय स्थापना गर्ने घोषणा गरे । तामाङले मित्रमणी आचार्यको सालिक संगै रामपुर क्याम्पस पढ्ने जनयुद्धका सहिद मुकुन्द न्यौपाने र रामवहादुर खड्काको सालिक वनाई निर्माणाधिन स्मृति वाटिकालाई पुर्णता दिने समेत घोषणा गरे ।
प्युठान जिल्लाको रम्दी भन्ने ठाउँमा २०१९ असार ३ गते जन्मिएका मित्रमणी आचार्य ०३७ सालमा पक्लिह्वा क्याम्पसको स्ववियु सभापति निर्वा्चित भएका थिए। उनी पछि २०४१ सालमा रामपुर कृषि क्याम्पसको पनि स्ववियु सभापति निर्वा्चित भएका थिए ।
आचार्यलाई २०४२ साल वैशाख १८ गते चितवनको पर्साढाप भन्ने ठाउँमा खुकुरी,भाला प्रहार गरी क्रुरतापुर्वक हत्या गरिएको थियो । सोही दिनलाई नेपालका वामपन्थी विद्यार्थी संगठनहरुले मित्रमणी दिवसको रुपमा मनाउँदै आएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए ।

स्मृति सभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य यामवहादुर परियार , कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति एवम् सहिद मित्रमणीका गुरु प्रा.डा.ईश्वरीप्रसाद ढकाल, मित्रमणीका सहपाठी टीका पोखरेल लगाएतले उनको संघर्षशील जीवनको चर्चा गरेका थिए।

कार्यक्रममा क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्ष विजय गौतम,उपमहासचिव जिपि मैनाली र रामपुर क्याम्पसका अध्यक्ष नगेन्द्र दाहालले राष्ट्रियता,लोकतन्त्र र विद्यार्थी हकहितको पक्षमा निरन्तर लागिरहनु नै मित्रमणी आचार्यप्रति सच्चा श्रद्धाञ्जली हुने वताएका थिए ।