अज्ञात समूहले चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट काटेर सखाप पारे

चितवन,बैशाख १८, चितवनको पसर्बि क्षेत्रमा किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले गएराती नष्ट गरिदिएको हो । सो समुहले रातको समयमा छानिछानि किसानको केरा बगानमै पसेर नष्ट गरेको छ । स्थानिय १२ किसानका ३१ सय बढी केरा काटेर नष्ट गरिएको र सोही ठाँउको मकैमा समेत क्षति पुर्याएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका जानकारी दिनुभयो । केरा काटेर नोक्सान गर्नेहरु पत्ता लगाएर कारवाही गर्न प्रहरीमा उजुरी दिइएको पन्तले बताउनुभयो ।

स्थानिय कोपिला दाहालको सबैभन्दा धेरै १२ सय बोट नष्ट गरिएको छ । त्यस्तै शोभा भट्टको ६ सय बोट,झलक सुवेदीको ३ सय,नवराज धितालको १ सय ५०,शंकर अम्गाईको २ सय ५०,देवी प्रसाद गोतामेको ५०,धु्व आचार्यको ३५, गोपी लामिछानेको २ सय, गाविन्द दाहालको ५०,लिला पंगेनीको १ सय ५०, पुर्ण वहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा पुर्ण रुपमा नष्ट भएको छ ।

फलेका केरा काटेर केरा नष्ट गर्नु सूनियोजित घटना भएको भन्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न किसानले माग गरेका छन् । केहीदिन अघि मात्रै सो क्षेत्रवाट लागु पदार्थ सेवन गरिरहेका युबालाई प्रहरीले पक्राउ गरेको थियो । उनिहरुको समूहबाट नै केरा फडानी गरेको हुनसक्ने स्थानियको अनुमान छ ।

एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानले पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । किसानहरुको साढे १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अध्यक्ष पन्तले बताउनुभयो । पूर्वी चितवन केराका लागि विशेष क्षेत्र हो । चितवनमा पछिल्लो समय केराखेती फष्टाउँदै गएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी बासुदेव खतिवडाले केरा नष्ट गर्न संलग्नको तिव्र रुपमा खोजी भैरहेको बताउनुभयो । उहाँले किसानले दिएको सूचनाका आधारमा संलग्नहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउनुभयो ।