मनकामना मन्दिरमा गजुर राखियो

 


गोरखा, बैसाख १७ । नेपालकै प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ । सोमबार बैशाख पूर्णिमाको साइत पारी मुख्य पुजारी इन्सान थापा मगरलगायतले गजुर राखेका हुन् । बाजागाजा सहित विशेष पूजा गरेर गजुरलाई मन्दिरको माथिल्लो तलामा चढाइएको थियो ।

मन्दिर जिर्णाेद्वारको काम चलिरहेपनि उपयुक्त साइत सोमबार परेकाले गजुर राखिएको जिर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।
सोमबारलाई उपयुक्त साइत भएकाले गजुर राखेका हौं।’ अध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म सात किलो सुनले गजुर र माथिल्लो तलाको छानामा जलप लगाउने काम सकिएको बताए ।

पुरानो गजुर मर्मत गर्न मात्रै २० लाख रुपैँयाँ खर्च भएको उनको भनाइ छ । १६ किलो सुनले मन्दिरको छाना, ढोका, नागकन्या लहरीमा जलप लगाउने श्रेष्ठले बताए । नेपाल सरकारबाट प्राप्त चार करोड रुपैयाँले सात किलो सुन किनिएको समितिले जनाएको छ ।

अहिले मन्दिरको जिर्णाेद्वारको काम ९० प्रतिशत सम्पन्न भएको समितीेले जनाएको छ । अब मन्दिरमा केही टुँडाल खोप्ने, झ्याल ढोका र तल्लो छानामा जलप लगाउने काम मात्र बाँकी रहेको छ ।

मन्दिर जिर्णाेद्वारका लागि सरकारबाट चार करोड र भक्तजनबाट करिब नौ करोड रुपैयाँ संकलन भएको समितिले जनाएको छ । मन्दिर निर्माण सक्न करिब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको संयोजक श्रेष्ठको भनाइ छ । ०७२ असारदेखि जिर्णाेद्वारको काम सुरु भएको थियो ।