गीतानगरको चोकबजारमा बैशाख १७ गते लाईभ कन्सर्ट हुँदैं

चितवन,बैशाख १५ । बुद्ध जयन्तीको अवसर पारेर पश्चिम चितवनको गीतानगरस्थित चोक बजारमा समर फ्रेस–२०७५ (कन्सर्ट) आयोजना गरिएको छ । आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिइएको छ । एजे. इन्टरनेशनल प्रालिको आयोजनामा बैशाख १७ गते चोक बजारमा कन्सर्ट हुन लागेको हो । सोमवार साँझ ४ बजे बाट ९ बजेसम्म कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश प्रवाह गर्ने उदेश्यसहित कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक रोज गुरुङले जानकारी दिए । कार्यक्रममा नेपालको चर्चित राष्ट्रिय व्याण्ड अनुप्रस्थका साथमा डिजे प्रोशिस र दि विकल्प ब्याण्डको विशेष प्रस्तुती रहने छ । अनुप्रस्त ब्याण्डको ‘दिन यस्तो पनि थियो’ बोलको गीत युवा पुस्तामाझ चर्चित छ ।

समर फ्रेसबाट बचत रकम सामाजिक काममा खर्च गरिने आयोजकले जानकारी दिएको छ । हाल अमेरिकामा रहदैं आएका आलोक प्रताप राणा ए.जे. इन्टरनेसनल प्रालिको प्रमुख कार्यकारी हुन् । उनीसंगै अमेरिकामा नै बसोबास गर्ने कबिता गौतमले कार्यक्रमको विशेष संयोजन गरेकी छन् । कार्यक्रम गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । कार्यक्रममा टिकट शुल्क नलाग्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
“समर फ्रेस–२०७५” लाई टुर्बोगले मुख्य प्रायोजन गरेको छ भने बराल कोलनी र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले प्रायोजन गरेको छ । समर फ्रेस–२०७५ लाई रन्जना फाउडेसन, योङ्ग–नेपाल, एस्ट्रल युथ सोसाइटी,गोर्खा फिटनेस क्लब, केसरबाग व्वाई क्लब, मिलन फोटो स्टुडियो, लेक ट्वान्टी थाउजेन फार्म एण्ड रिट्रट, गुधुली चुल्हो, होटेल रोयल ब्याङ्क्वेट लगायतले सहयोग गरेका छन् ।