सुन काण्डमा मलहोत्रा र कायस्थ पनि तानिदै

 bijaya lal and dipak

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दिपक मल्होत्रा र पूर्व एआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान शुरु गरिन लागेको छ । गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ ।

कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको झण्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए ।
स्रोतका अनुसार मल्होत्राको सुराकीको आधारमा कायस्थले सुन बरामद् गरेका थिए ।

मल्होत्राले सुन भित्र्याईं रहँदा उनको विरोधी समूहबाट आएको अवैध सुन बरामद गर्ने क्रममा कायस्थको खराव नियत बाहिर आएको थियो । कायस्थ एयरपोर्टमा रहँदा मल्होत्राले एकलौटी रुपमा सुन तस्करी गरेको छानविन समिति स्रोत बताउँछ । सनम शाक्य हत्या र ३३ किलो सुन काण्डको अनुसन्धान गरिरहेको गृह मन्त्रालयका सह सचिव पौडेलको समितिले अहिले उक्त फाइल खोलेको हो । समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गरेको बुझिएको छ ।

८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको थियो । उनीहरु अझै फरार छन् । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो । सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध रहेको समाचार बाहिर आएको छ ।

यूनाइटेड पोस्टबाट