सनम हत्या र सुन तस्करी काण्डमा मुछिएका एसएसपी लोहनीलाई जोगाउन चलखेल शुरु

काठमाडौं, १३ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेस लोहनीलाई जोगाउन गृह मन्त्रालयल भित्र सुन तस्करहरुको समूहले ठूलो चलखेल शुरु गरेका छन् ।

सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनीलाई कारबाहीबाट जोगाउन पूर्व आईजीपीद्धय प्रकाश अर्याल र उपेन्द्रकान्त अर्याल, पूर्व एआईजी विजयलाल कायस्थ, सुन तथा मोवाईल लगाएत ईलाक्ट््रोनिक्स सामान तस्कर दीपक मल्होत्रा लगायतका विवादास्पद व्यापारीहरुले प्रधानमन्त्री केपी ओलीदेखि गृहमन्त्री रामबहादुर थापा ‘वादल’सम्म ठूलो रकमको चलखेल गरेको खुल्नमा आएको छ ।

तर, यो प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री राम बहादुर थापाको विशेष चासो राखेका कारण अर्यालद्वय र लोहनीको खेल सफल नहुने देखिएको छ ।
छानविन समिति गठन गर्दा नै पूर्व आईजीपी प्रकाशले आफ्ना मान्छेलाई मात्र समितिमा राखेका कारण लोहनी र डिएसपी प्रजित केसीको अहिलेसम्म पनि समितिले बयान लिएको छैन । जवकी एसएसपी लोहनी र डिएसपी केसीलाई महाशाखाबाट एक महिना अघि नै हेडक्वार्टर तानिएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार एसएसपी लोहनीले सुन तस्कर गोरे भन्ने चुँडामणी उप्रेतीसँग भित्रभित्रै साँठगाँठ गरेको खुलिसकेको छ । सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान अनुसन्धान समिति गठन गरेको थियो ।

एसएसपी लोहनीले तल्लो तहका प्रहरीलाई बलिको बोको बनाई आफू कारबाहीबाट बच्न समितिमा रहेका डिएसपी सुदिप पाठक र इन्सपेक्टर हुँमागाई मार्फत सूचना लिएर शक्ति केन्द्रसम्म चलखेल गर्दै आएका छन् । सुन काण्डमा सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र गोरेलाई लोहनी महाशाखामा हुँदा नै भगाइएका कारण उनको शंकास्पद भूमिका देखिएको थियो ।

एसएसपी लोहनी महाशाखामा हुँदा उनैले सनम हत्या र सुन तस्करीको अनुसन्धान शुरु गरेका थिए । तर, अनुसन्धानका क्रममा गृहको समितिले गत चैत २० र २१ गते एसएसपी लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई गृह मन्त्रालयमा बोलाएर बयान लिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा अपराध महाशाखाका प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद देखिएपछि गृहसचिव स्तरीय निर्णयबाट एसएसपी लोहनी, डीएसपी केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाएर अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार गरिएको थियो । गृहको पत्राचारपछि उनीहरु तीनै जनालाई प्रहरी मुख्यालयको मानव स्रोत विकास विभागमा हाजिर गराइएको छ ।

तर, अहिलेसम्म पनि घटनाका मुख्य पात्र लोहनी र केसीलाई समितिले हिरासतमा नलिनुलाई शंकास्पद रुपमा लिइएको छ । लोहनी नेतृत्वको महाशाखाले कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको थियो । जुन कुरा पुष्टि भइसकेको छ ।

फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिङमा बरामद गरेको शाक्यको शवलाई दिउँसो विराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानका क्रममा खुलिसकेको छ । उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन नसक्नु र मुख्य अभियुक्त गोरे प्रहरीको सम्पर्कमा रहँदा–रहँदै भाग्नु नै लोहनी दोषी देखिने मुख्य आधार हो ।

लोहनीले तत्कालिन आईजीपी अर्यालसँग समन्वय गरी अपराधीलाई उम्काएको र सुन समेत खोज्न आनाकानी गरेका कारण अर्याल पनि यो घटनामा दोषी ठहरिने अवस्था देखिएको छ । दुई वर्ष अगाडि तस्करीमा मुछिएका पूर्व डिआईजी गोविन्द निरौलालाई पक्रउ गरी अनुसन्धान गरिनु तर, हत्या र तस्करीमा मुख्य भूमिका देखिएका लोहनीमाथि कुनै पनि कारबाही गर्न समितिले नसक्नुलाई ठूलो आर्थिक चलखेलको रुपमा लिइएको छ ।

तस्करीको ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो ।

शाक्यको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी र प्रहरीकै संलग्नताको रुपमा लिइएको छ ।

 

 

 

 

यूनाइटेड पोष्ट साप्ताहिकबाट ।