चितवनमा फेरी अर्को दुर्घटना

बस र ट्रक जुध्दा सह–चालकको मृत्यु, २४ घाइते

चितवन ,११ वैशाख । दैनिक जस्तो दुर्घटना भईरहेको चितवनमा फेरी अर्को दुघटना भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डमा बस र ट्रक आपसमा जुध्दा एक जनाको मृत्यु भएको हो । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्याउली बजारमा आज बिहान ६ बजे इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक एकापसमा ठक्कर खाँदा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अन्य २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको प्रहरी चितवन प्रहरीले जानकारी दिएको छ ।