महिलालाई एसिड प्रहार गर्ने प्रहरी नायब निरीक्षक निलम्बन

 

१० बैशाख । प्रहरीको एसिड प्रहारबाट गम्भीर घाइते भएकी गोर्खा घर भई हाल चितवनको भरतपुरस्थित त्रिचोक बस्ने बिवाहित महिला बर्ष २८ कि कल्पना श्रेष्ठलाई गृहमन्त्री रामबहादुर थापा बादलले भेट गरेका छन् । रक्षक नै भक्षक भएको भन्दै सर्वत्र विरोध भएपछि गृहमन्त्री रामबहादुर थापा बादल आज आफैं घटनाको बारेमा बुझ्न भरतपुर अस्पताल आइपुगेका हुन् । भेटका क्रममा बोल्दै गृहमन्त्री बादलले दोषी प्रहरीलाई कठोर कार्वाही गर्ने बताए ।भेटका क्रममा ती महिलाले आफुलाई मार्ने उद्देश्यले एसिड प्रहार गरेको दुःखेसो पोख्दै कडा कार्वाही गर्न मन्त्रीलाई आग्रह गरेकी थिइन् । उनले आफुलाई मिनिरल वाटरको बोत्तलमा एसिड राखेर विगत लामो समयदेखि प्रहार गर्ने उद्देश्य खनियाँ हिडेको खुलासा समेत गरिन् । उनको गुनासो सुनेपछि गृहमन्त्री रामबहादुर थापा बादलले घटना दुःखद् भएको भन्दै यसले प्रहरी संगठन र गृह मन्त्रालयलाई नै स्तब्ध बनाएको बताए । गृहमन्त्री थापाले प्रहरीभित्र ठूलै सुधार गर्नुपर्ने बताउँदै राष्ट्र सेवकबाटै महिला दिदी बहिनी सुरक्षित नहुनु निकै ठूलो र दुःखद् पक्ष भएको बताए । प्रहरी सुधारका लागि अब ठोस कदम चाल्ने गृहमन्त्रीकोे भनाई थियो । रातोमाटे गण हेटौंडा दरबन्दी भई ईलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यारर्त ५२ बर्षे प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले आफ्नो प्रेम अस्वीकार गरेका कारण श्रेष्ठको घर नजिक एसिड प्रहार गरेपछि उनी गम्भीर घाइते भएकी थिइन् । खनियाँँ र श्रेष्ठ दुबै बिवाहित हुन् । श्रेष्ठको श्रीमान् नेपाली सेनाको तारा दल गण बारामा कार्यारर्त छन् भने, खनियाँको एक श्रीमती र दुई बच्चा छन् । यसैबीच , घटनामा संलग्न प्रहरी खनियाँँलाई आवश्यक कार्वाहीको लागी कल्पनाका श्रीमानले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । उनको श्रीमानले उजुरी गरेलगत्तै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाई ६ दिनको म्याद थप गरि अनुसन्धान तीब्र पारिएको साथै उनलाई प्रहरी सेवाबाट निलम्बन गरि आवश्यक कार्वाही प्रक्रियालाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।