यो समय विकास र समृद्धिको हो : गृहमन्त्री बादल

चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन् ।

रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको उद्घाटन गर्दै आज सोमबार टाँडीमा उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताएका हुन् ।

विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको भन्दैं विकासका निम्ति अनुशासन आवश्यक रहेको भन्दै मन्त्री थापाले समाजमा हुने अपराध, भ्रष्टाचार र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न जरुरी रहेकोमा जोड दिएका थिए ।

अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको बताए । देशको विकासका लागि यातायातमा जस्तै कृषि क्षेत्र र अर्थतन्त्रमा देखिएका सिण्डिकेटको अन्त्य गर्नु पर्ने उनको भनाइ थियो । देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै गृहमन्त्रि बादलले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै औद्योगिकीकरण गर्न जरुरी रहेको मा जोड दिएका थिए ।

औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यूनीकरण गर्नु पर्ने भन्दै उनले चन्दा आतङ्क समाजका लागि एक किसिमको अपराध भएको जिकिर गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक एक हजार ५०० युवा विदेशिनु देशका लागि विडम्बना भएको भन्दै देशमा नै लगानीमैत्री वातावरण बनाउन सरकार लाग्नु पर्ने माग गरे ।
सो अवसरमा संघका अध्यक्ष राजाराम रेग्मीले संघले अहिलेसम्म गरेका काम तथा अबका चुनौतीका विषयमा जानकारी गराएका थिए ।