राष्ट्रपति रनिङ शिल्डमा मेघौलीको जानकी मावि पहिलो 


चितवन, ०९ बैशाख
चितवनको भरतपुरमा आयोजना गरिएको दसौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मेघौलीको जानकी माविले जितेको छ । जानकी माविले १० वटा स्वर्ण पदक सहित दुई सय ५७ अंक प्राप्त गर्दै पहिलो भएको थियो । जानकी माविले प्रतियोगिताको विजेता हुँदै रनिङ शिल्डको साथमा १५ हजार रुपैयाँ पुरस्कार पाएको छ भने खेलकुद पूर्वाधार सामग्रीका लागि थप ३५ हजार रुपैयाँ समेत प्राप्त गर्न सफल भएको छ । त्यस्तै, प्रतियोगितामा चार वटा स्वर्ण पदक जित्दै एक सय ३८ अंक सहित मेघौलीकै साझापुर मावि दोस्रो भएको छ । प्रतियोगितामा दोस्रो भएको साझापुर माविले १२ हजार रुपैयाँ पुरस्कार तथा खेलकुद पूर्वाधार सामग्रीको लागि थप २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा तीन वटा स्वर्ण पदक सहित ९८ अंक प्राप्त गरि तेस्रो भएको भरतपुर ७ को प्रेमबस्ती माविले नौ हजार रुपैयाँ पुरस्कार पाएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिनुभयो । जिल्लामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएका ७३ जना खेलाडीले प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने लामाको भनाइ छ । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौटको अन्तिम तयारी भइरहेको जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले बताउनुभयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ४० विद्यालयबाट ६ सय खेलाडीले सहभागिता जनाएका ढकालको भनाइ थियो ।