विद्यार्थी भर्ना अभियानमा स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी हुँदै ।

चितवन, ५ बैशाख । नयाँ विद्यार्थी र पढाइ छोडेर विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कुल भित्र ल्याउन यस पटकको भर्ना अभियानमा पहिलो पटक स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी हुने भएका छन् । चितवनमा पनि विद्यालय उमेरका केही विद्यार्थी अझै विद्यालय बाहिर रहेका हुनाले यसलाई शून्यमा झार्न स्थानीय तहका जनप्रतिनिधिहरु नै भर्ना अभियानमा सहभागी हुन लागेका हुन् । चितवनका सातै स्थानीय तहले कुनै न कुनै रुपमा विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदैछन् । विद्यालय उमेरका कुनै पनि विद्यार्थी विद्यालय बाहिर नरहने अवस्था सिर्जना गर्न स्थानीय तहले कार्यक्रम नै बनाएर भर्ना अभियानलाई प्रभावकारी बनाउँदैछन् । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले भर्ना अभियानलाई प्रभावकारी बनाउन उपमेयर पार्वती शाहलाई विभिन्न स्कुलमा सहभागी गराउँदै छ । महानगरका एक जना विद्यार्थी पनि विद्यालय बाहिर रहनुहुँदैन भन्ने सोचका साथ जनप्रतिनिधिहरु घरघरमा पुगेर विद्यार्थीलाई भर्ना गराउनेछन्, त्यो अनुसार शैक्षिक प्रशासन महाशाखाले निर्देशन गरेको छ’ शाखाका शाखा अधिकृत बाबुराम दवाडीले भने, ‘भरतपुर २७ र २८ मा वडाध्यक्षसहितको जनप्रतिनिधि स्कुलमा पुगेर भर्ना अभियानमा सहभागिता जनाउने कार्यक्रम बनेको छ । वैशाख १५ गतेसम्म चितवन जिल्लाभरका सामुदायिक विद्यालयमा भर्ना अभियान चल्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनोकुमार गैरेले बताए । उनले भने, ‘चितवन जिल्लामा अझै ४९८ विद्यार्थी विद्यालय बाहिर छन्, तिनीहरुलाई विद्यालय भित्र ल्याउन विद्यालय प्रशासन, शिक्षक कर्मचारीसँगसँगै जनप्रतिनिधि पनि भर्ना अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।’ वैशाख १५ देखि ३० गतेसम्म भर्ना गर्न नभएका विद्यार्थीहरुको खोजी गर्न घरदैलो कार्यक्रम हुने इकाइ प्रमुख गैरेले जानकारी दिए । इच्छाकामना, राप्ती, रत्ननगर, खैरहनी, कालिका नगरपालिका र माडी नगरपालिकाका जनप्रतिनिधिहरु पनि भर्ना अभियानलाई प्रभावकारी बनाउन सहभागी हुने भएका छन् । ‘भर्ना अभियान लाई प्रभावकारी बनाउन कुनै न कुनै तरिकाले जनप्रतिनिधिको सहभागी हुनेछ’ राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले भनिन्, ‘विद्यालय आउन कुनै विद्यार्थी नछुटून भन्ने चाहना हाम्रो छ । हामी कार्यक्रम बनाएर भर्ना अभियानमा लाग्नेछौँ ।’ राप्ती नगरपालिकाका पहाडी भेगका, कालिका नगरपालिकाको माथिल्लो चेपाङ क्षेत्रका, माडीका बोटे समुदायका र इच्छाकामनाका चेपाङका बालबालिका अझै विद्यालय बाहिर रहेका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनोकुमार गैरेले बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पनि विद्यार्थी भर्ना अभिायानमा तीव्र रुपमा जनप्रतिनिधि लाग्ने बताए । उनले भने, ‘यो अभियानमा हामी लागि परेका छौँ । रत्ननगर नगरपालिकाका एउटा विद्यार्थी पनि विद्यालय बाहिर रहनु हुँदैन । जनप्रतिनिधिको घरदैलो कार्यक्रम पनि हामीले चलाउने छौँ ।’ उनका अनुसार शिक्षक, स्कुल प्रशासनलाई यस भर्ना अभियानमा बढी झक्झकाउने काम पनि हुन्छ । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले माडीको बाँदरझुला र कुुसुमखोलाका केही विद्यार्थीहरु विद्यालय बाहिर रहेको बताए । उनले भने, ‘योजना बनाएर मात्र हुँदैन, अभियान चलाएमा मात्र हुँदैन । हामी कसरी जाने भन्ने छलफलमै छौँ ।’यसपटकको भर्ना अभियानमा जनप्रतिनिधि सक्रिय भएर लाग्ने उनको भनाइ थियो । जिल्लामा ४९८ विद्यार्थी अझै विद्यालय बाहिर छन्