दोलखाको जिरी नगरपालिकाद्धारा रत्ननगरको कृषि र पर्यटनको विकासबारे अबलोकन

चितवन,चैत २८(
दोलखाको जिरी नगरपालिकाको नगर प्रमुख,उपप्रमुख सहित कृषि र पर्यटनको अध्ययन भ्रमणमा आएको टोलीले बुधवार रत्ननगरको विकासक्रमको अबलोकन गरेको छ । जिरीका मेयर टंकबहादुर जिरेल,उपमेयर कृष्णमाया बुढाथोकी,प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा सहित कार्यपालिकाका सदस्य र कर्मचारीको टोलीले पर्यटकीय नगरी सौराहा,कृषि फर्म र धार्किक पर्यटकीय केन्द्र जिरौनाको श्रीकृष्ण प्रणामी धर्मधामको अबलोन गरेको हो । टोलीलाई रत्ननगर नगरपालिकाकी निमित्त नगर प्रमुख विमला दुवाडी र प्रबक्ता सरस्वती लामाले स्थलगत अबलोकन गराएका थिए ।स्थलगत अध्ययन पछि आयोजित कार्यक्रममा रत्ननगरकी निमित्त नगर प्रमुख दुवाडी र जिरी नगरपालिकाका नगर प्रमुख टंकबहादुर जिरेलले आ आफ्नो नगरपालिकामा कृषि र पर्यटनको विकासमा भएको प्रगतिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा निमित्त नगर प्रमुख दुवाडीले रत्ननगर नगरपालिकाले कृषि क्षेत्रको विकासको लागि किसानलाई व्यसायिक रुपमा खेति गर्न प्रोत्सहान गर्दै अनुदान दिने कामको सुरुवात गरिएको बताईन । रत्ननगर कृषिमा आधारित पर्यटकीय नगर रहेको भन्दै उनले कृषि र पर्यटनलाई आधार बनाएर विकासकोक्रम सुरु गरिएको जानकारी गराईन ।

कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख जिरेलले नगरपालिकाका पहाडको विचमा सुन्दर शहरको रुपमा विकास भईरहेको बताए । जिरी नगरपालिका धार्मिक पर्यटकीय नगरको रुपमा विकास भईरहेको भन्दै उनले त्यहा भएका धार्मिक संरचनाको थप विकासमा जोड दिईएको बताए । उनले रत्ननगरमा कृषि र पर्यटनको विकासका लागि भएका प्रयासहरुको अनुसर गरेर जिरीलाई पनि विकासको गतिमा अगाडि बढाउने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुंगानाले विकास निर्माण र कृषि शाखा प्रमुख शिवराज पौडेलले कृषिको विकासका वारे टोलीलाई जानकारी गराएका थिए ।