माओवादी एमाले एकता नहुने संकेत

चितवन / एमाले माओवादी एकताको चर्चा बढिरहेको बेला एक्कासी तत्काल दुई पार्टीविच एकता नहुने संकेत देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताएका बताएसँगै तत्काल दुई पार्टीविच एकता नहुने संकेत देखिएको हो । बाहिर चर्चा चले जस्तो ७० र ३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका बेला आएको प्रचण्डको अभिव्यक्तिलाई निकै कुटनितिक र अर्थपूर्ण रुपमा हेरिएको छ ।
अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन समारोहमा बोल्दै प्रचण्डले पार्टी एकता गर्दा संगठनमा बराबरी भागवण्डा हुनुपर्ने बताएका हुन् । स्थानीय चुनावलाई आधार बनाएर संघ र प्रदेशको चुनावमा ६० र ४० को भागवण्डा भएको भन्दै उनले भने, ‘बाहिर भनिए जस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन । बराबरी बाहेक पार्टी एकता हुँदैन ।’ एमाले नेताहरुले भने चुनावी परीणाम अनुसार ७०र३० को मोडल हुन सक्ने बताएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नजिकिदै जाँदा शंका उपशंका बढदै गएकाले पनि दुई पार्टीविचको एकता लम्बिदै जाने प्रष्ट देखिएको छ ।