ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै

२७ फागुन, काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने विषयलाई नै प्रमुख समाचार बनाएर छापेका छन् ।
नागरिक दैनिकले ‘ओली शक्तिशाली प्रधानमन्त्री बन्दै’ शीर्षक दिएर समाचार छापेको छ ।
समाचारअनुसार एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद छक्कबहादुर लामाले समेत समर्थन गर्दा ओलीको पक्षमा २०९ सांसद हुनेछन् । नेपाली कांग्रेसका ६३ तथा नयाँ शक्ति र नेमकिपाका १(१ जना सांसदले विपक्षमा देखिएको समाचारमा उल्लेख छ ।
नेमकिपाले पक्षमा मतदान गर्ने सम्भावना रहे पनि निर्णय भने गरिनसकेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, ‘नेमकिपाले पनि पक्षमा मतदान गरे प्रधानमन्त्री ओलीले २१० मत प्राप्त गर्नेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसेमा त्यो कुल संख्याको ७६।३६ प्रतिशत हुनेछ ।’

राजधानी दैनिकले यही विषयलाई प्रधानमन्त्री ओलीलाई दुई तिहाइ बढी सांसदको समर्थन रहेको समाचार लेखेको छ । समाचारअनुसार एमालेका १२१, माओवादीका ५३, राजपाका १७ र संघीय समाजवादी फोरमका १६ सांसदले ओलीलाई समर्थन गरेका छन् ।
समाचारमा लेखिएको छ, ‘गत ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्य सबै राष्ट्रिय दलले विश्वासको मत दिने देखिएको छ । थ्रेसहोल्डका कारण राष्ट्रिय दल बन्न बन्चित साना दलका स्वतन्त्र हैसियतमा प्रतिनिधित्व गर्ने सांसदहरुले समेथ ओलीलाई विश्वासको मत दिने भएका छन् ।’
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिँदैछन् ।