रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री

चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री हुने गरेको पाइएको छ । रत्ननगर वडा नं। ९ र वडा नं।१३ मा सुकुमबासीले नै सार्वजनिक जग्गा बिक्री गरेको पाइएको हो । अन्य जिल्लाबाट आएका सुकुमबासीहरुलाई रत्ननगरका सुकुमबासीहरुले ओगटेर राखेको जग्गा खरिद बिक्री हुने गरेको छ । रत्ननगरमा ऐलानी जग्गा किनेर धमाधम नयाँ घर बनाइएको छ । रत्ननगर नगरपालिकाले ऐलानी जग्गामा घर बनाउन रोक लगाएको भए पनि यहाँ सुकुमबासीहरुले ऐलानी जग्गा किनेर घर बनाएका छन् । हेटौंडाबाट बसाइ सरेर रत्ननगर आएका जितबहादुर थिङले रत्ननगर–९ टिकौलीमा रहेको सुकुमबासी बस्तीमा नयाँ घर बनाएका छन् । उनले सोही बस्तीका राम दराईसँग ऐलानी जग्गा खरिद गरेर नयाँ घर बनाएका हुन् । जितबहादुरले घर बनाउन मिल्ने गरी १० धुर जग्गा एक लाख २० हजारमा खरिद गरेको बुझिएको छ ।
‘ऐलानी जग्गामा घर बनाउन नगरपालिकाले रोक लगाएको विषयमा हामीलाई थाहा भएन’ जितबहादुरकी श्रीमती विष्णुमायाले भनिन्, ‘ऋणधन गरेर बनाएको घर भत्काउन प¥यो भने हाम्रो त उठिबास लाग्छ ।’ नेपाल सुकुमबासी सुधार समितिकी निर्वतमान उपाध्यक्ष उर्मिला पासवानले दुई वर्षयता टिकौलीकै सुकुमबासी बस्तीको चार वटा घडेरीको रुपमा ऐलानी जग्गा बिक्री गरेको स्रोतले जानकारी दिएको छ ।
रत्ननगर–९ मा रहेको सुकुमबासी बस्तीमा ऐलेनी जग्गा किनबेच गरेरै अहिले ५ वटा घर निर्माण भइरहेको छ । भोगचलन गर्दै आइरहेको व्यक्तिले ऐलानी जग्गामा घर बनाउने र घर जग्गा दुबै बिक्री गर्ने गरेको वडा नं। ९ का वडा अध्यक्ष रोशन आचार्यले बताए । ‘लामो समयदेखि भोगचलन गर्दै आएका व्यक्तिले घर बनाउछन्’ उनले भने, ‘बस्ने बेलामा बाहिरी जिल्लाबाट आएको मान्छे बसेको हुन्छ ।’ उनले ऐलानी जग्गामा घर नबनाउन पटक–पटक आग्रह गर्दा पनि सुकुम्बासीहरुले अटेर गरेको बताए । ऐलानी जग्गामा बनाइरहेका घरहरु भत्काउन आग्रह गरिएको उनले बताए । ‘हामीले निश्चित अवधि राखेर घर भत्काउन आग्रह गरेका छौं’ वडा अध्यक्ष आचार्यले भने, ‘हाम्रो आग्रहलाई अटेर गरे नगरपालिकाले डोजर लगाएर ती घरहरु भत्काउने छ ।’ उता, रत्ननगर–१३ सुकुमबासी बस्ती की जमुना राउतले ऐलानी जग्गा बिक्री गरेकी छन् । राउतले बिक्री गरेको जग्गामा एउटा घर निर्माण भइसकेको छ भने र अन्य दुई घर निर्माणाधीन अवस्थामा रहेका छन् । राउतले एक एक लाखका दरले २०÷२० हात जग्गा बिक्री गरेकी हुन् । राउतले बारा जिल्ला घर भई रत्ननगरमा तरकारी खेती गर्दै आएका धनपत मियाँ, मकवानपुर जिल्लाका मैना न्यौपाने र स्थानीय सुनिता नेपालीलाई ऐलानी जग्गा बिक्री गरेको वडा नंं।१३ का वडा अध्यक्ष चित्रबहादुर भण्डरीले जानकारी दिए ।
‘रत्ननगर नगरपालिकाले ऐलानी जग्गा बेचबिखन नगर्न, सार्वजनिक जग्गामा नयाँ घर निर्माण नगर्न सूचना जारी गरेको छ’ वडा अध्यक्ष भण्डारीले भने, ‘तर यहाँका सुकुमबासीहरुले नगरपालिकालाई अटेर गरेर ऐलानी जग्गा खरिदबिक्री गरिरहेका छन् ।’ रत्ननगर नगरपालिका वडा नंं ११ र १२ मा रहेका सुकुमबासी बस्तीमा धमाधम नयाँ घर निर्माण भइरहेका छन् । रत्ननगर–१३ मा तीन घर, रत्ननगर ११ मा २ वटा घर र रत्ननगर १२ मा ४ वटा घर ऐलानी जग्गामा निर्माण भइरहेको जानकारी प्राप्त भएको छ । घर निर्माण कार्य रोक्न रत्ननगर नगरपालिकाले पत्राचारसमेत गरेको छ । नगरपालिकाका मेयर नारायण वनले कार्यपालिकाको बैठकले ऐलानी जग्गामा घर रोक लगाएको बताए । ‘नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको अभियान सुरू गरेको छ’ उनले भने, ‘यस्तो अवस्थामा सुकुमबासीहरुले जग्गा किनबेच गरेको खबर सुन्दा आफूलाई अचम्म लागेको बताउदै अन्य जिल्लाबाट आएका सुकुमबासीलाई उनीहरुकै जिल्लामा फिर्ता पठाउने बताए ।