अन्तत:विप्लव समूहको चेतावनीको कारण सलमान खान नेपाल नआउने भए


नेपाल कम्युनिष्ट पाटी (विप्लव)को चेतावनीको कारण अन्तत:सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ ।
फागुन २६ गते काठमाडौंमा हुने कार्यक्रममा बलिउडका अभिनेता सलमान खान आउने यसअघि पक्काजस्तै थियो ।
आजमात्रै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको हो । खानको ‘दबंग द टुर’ १० मार्च अर्थात फागुन २६ मा काठमाडौंमा हुने तय भएको थियो । सो शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने बताइएको थियो ।
तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृसंगठन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले विज्ञप्ति जारी गरेर फागुन २६ गते काठमाडौंको सैनिकमञ्चमा भारतीय कलाकार ल्याएर गर्न लागिएको कार्यक्रम रोक्न चेतावनीमुलक विज्ञप्ती जारी गरेसंगै नेपाल भारत दुबैतिर तरंग फैलिएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएको आयोजक ओडीसी इन्टरनेसन ‘दबंग द टुर’ले जनाएको छ ।
आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । शो नयाँ मिति तय गर्ने प्रयासमा सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले जानकारी दिए । शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ ।
के छ त् अखिल नेपाल जनसांस्कृतिक महासंघको विज्ञप्तिमा ?
‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक सांस्कृतिक कार्यक्रम फागुन २६ गते हुँदैछ । ‘यही फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ ।‘
नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन’, विज्ञप्तिमा भनिएको छ, ‘कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर, त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवर्द्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन ।’सलमान खान कलाकारको हिसाबमा नेपाल आउनमा कुनै अवरोधको नीति नरहेको भन्दै महासचिव थपलियाले भनेका छन, ‘रक्सी, मदिराका प्रवर्द्धनको लागि नेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ । त्यसैले ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्नसरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ ।’

सलमान खान आफ्ना केही भारतीय कलाकारहरूका साथ रक्सीको प्रमोसनका लागि नेपाल आउँदा नेपाली जनता खुसी नरहेको भन्दै ‘कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको प्रति हाम्रो गम्भीर आपत्ति समेत रहेको छ । हाम्रो संगठन भारतीयहरूको यसप्रकारको गलत नियत तथा नीतिको तीव्र विरोध र भत्र्सना गर्दछ’, थपलियाले भनेका छन्