सरकार देश विकासमा प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा प्रतिबद्ध रहेको बताएका छन् । बिहिबार उनलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा उनले सो कुरा बताएका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले देश बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारे । व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा आफ्नो सरकार नरहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक बृद्धिदरलाई बढाउँदै लैजान सबै क्षेत्रको उत्तिकै प्रयास आवश्यक हुने पनि स्मरण गराउँदै सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले कसैलाई दुःख दिने नियत आफू नेतृत्वको सरकार नरहेको समेत स्पष्ट पारे ।