व्यवसायीबाट प्रतिसटर ३० हजार

कर कार्यालयमा ६ हजारको मात्र बहालकर

चितवन÷भरतपुर महानगरपालिका वडा नं. १० भरतपुर हाईटमा रहेको इंग्ल्याण्ड मोटरकार रिकण्डीसन हाउस रहेको भनवको घर धनीले ब्यापक कर छली गरेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य दस्तावेज हेर्दा सो भवनमा रहेका ७ वटा सटरको घरधनीले प्रति सटर रु ३० हजारको दरले भाडा लिएको प्रष्ट देखिन्छ । सातवटा सटर बापत रु. दुई लाख दशहजार मासिक घरभाडा लिए पनि पाठक थरका ती घरधनीले न्यून रुपमा बहाल लिएको देखाई त्यसैको मात्र कर तिरी ब्यापक मात्रमा बहालकर छल्ने गरेको खुल्नमा आएको हो । आन्तरिक राजस्व कार्यालय भरतपुर निकट एक गोप्य श्रोतले दिएको जानकारी अनुसार घरधनी पाठकले ६ हजारका दरले ४२ हजारको मात्र बहालकर तिर्ने गरेका छन् । तिनै पाठकले उचालेपछि उनका वरिपरीका घरधनीहरुले समेत एकैपटक शतप्रतिशत भाडा वृद्धि गराउँदै तिर्न नसके सटर खाली गर भन्दै व्यवसायीहरुलाई धम्क्याउने गरेको पाइएको छ । भाटभटेनी सुपर मार्केट आउनु अघिसम्म पाँच हजार प्रति सटर नपर्ने त्यस ठाउँमा भाटभटेनी आएसँगै घरधनीहरुले अस्वभाविक भाडा बढाउँदा व्यवसायीहरु मर्कामा परेको स्वयं व्यवसायीहरु बताउँछन् । व्यवसायीलाई थाम्नै नसक्ने भाडा लगाउने घरधनीहरुले कर मात्र छलेका छैनन् प्रति शटर लाखौँ रुपैयाँ सलामी समेत लिने गरेका छन् । घरबहाल उपभोक्ता मञ्चले शुरु–शुरुमा व्यवसायीको हितमा काम गरे पनि अहिले मालिकहरुकै चाकडी गर्न थालेको पीडित व्यवसायीहरुको भनाई छ । बहालकर पनि छल्ने, सलामी पनि खाने व्यवसायीलाई मनलाग्दी भाडा असुल्ने यी घरधनीहरुलाई कार्बाही गर्ने कसले ? कर कार्यालय, प्रशासन वा अन्य कुनै शक्तिले ? अहिले व्यवसायीहरु यहि प्रश्नको उत्तरको खोजीमा भौतारीरहेका छन् । राजस्व कार्यालयको निन्द्रा कहिले खुल्ने हो भनि प्रतिक्षा गरी कुरिरहेका छन् ।