एनसेलका दर्जनौं टावरमा बम विस्फोट, नेटवर्कमा समस्या शुरु

कस्ले ग¥यो त आक्रमण ?

चितवन– निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनि एनसेलका दर्जनौं टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । विभिन्न जिल्लामा रहेका एनसेलको टावर र उपकरणमा सो समूहले तोडफोड तथा आगजनी गराएको हो ।
सोमबार राती पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।
विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।
त्यस्तै, मंगलबार मकवानपुरमा एनसेलको टावरमा आगजनी गरिएको छ । मनहरी गाउँपालिका– ३ मेलडाँडामा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको हो । मंगलबार बिहान करिव ३ बजे टावरमा आगजनी भएको इलाका प्रहरी कार्यालय नेवार पानीका प्रहरी सहायक निरीक्षक विजय बानियाँले जानकारी दिए । घटनामा संलग्नहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताए । टावरमा आगजनी भएपछि त्यस क्षेत्रमा एनसेलको नेटवर्कमा समस्या आएको प्रयोगकर्ताहरूले बताएका छन् । यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका– ८ बैजनापुर र डडेल्धुराको आलिताल गाउँपालिका– २ काफलीमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेको छ । त्यस्तै, काठमाण्डौका दक्षिणकाली , जोरपाटी र जोहर्सिंहपौवा , भक्तपुरमा एक , सुर्खेत , बाँके र कैलालीमा दुई दुइ ओटा टावरमाथि आक्रमण गरेको छ । यसैगरी ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर एनसेलका उपकरणहरु ध्वस्त पारेको छ ।
त्यस्तै धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ भने सोलुखुम्बु , धनुषा ,नुवाकोट, धादिङ्ग , ताप्लेजुङ्गलगायत देशैभरिका एनसेल कम्पनीका टावरमाथि तोडफोड तथा आगजनी भएको खबर प्राप्त भै रहेको छ । आक्रमणबारे बिस्तृत विवरण भने आईसकेको छैन ।
कस्ले ग¥यो त आक्रमण ?
विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । नेपाल कम्युनिस्ट पार्टीले नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही सुरु गरेको सो पार्टी का एक नेताले भण्डाफोरलाई जानकारी दिएका छन् । उनका अनुसार एनसेलले जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेको भन्दै कारवाही कारबाही सुरु गरेको बुझिन आएको छ ।
नेकपाले राज्यलाई तिर्नु पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक गरेको आग्रह अस्वीकार गर्दै आएकोले एनसेल कम्पनिका देशैभरका टावरमाथि एकैसाँथ तोडफोड तथा आगजनी गरिएको नेकपाका ति नेताको दाबी छ ।