पार्टी एकता प्रक्रिया आजै टुंग्याउने तयारी : प्रचण्ड

०१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी पार्टीबीच एकताको प्रक्रिया आजै टुंग्याउने तयारी भईरहेको बताएका छन् ।
२३ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओयाजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन जनयुद्ध सुरु भएकै दिन आज पार्टी एकता प्रक्रिया टुंग्याउने हाम्रो तयारी छ । यदि आज एकतालाई निष्कर्षमा पुर्याउन सकियो भने यो मेरो लागि सबै भन्दा खुशीको क्षण हुने छ ।’ जनयुद्ध दिवसकै दिन पार्टी एकता टुंग्याउने तयारी भईरहेको भन्दै उनले सो कार्यक्रम मार्फत सो कुराको खुलासा गरेका हुन् ।
‘दुई पार्टी एकताका लागि हामी गहन छलफलमा छौ । एमाले अध्यक्ष केपी ओलीले पनि हाम्रो कुराकानीका क्रममा जनयुद्धको महत्व स्वीकार गर्नुभएको छ । यसले प्रतिकृयाबादी र साम्राज्यबादीलाई चुनौती हुन्छ’ अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने । जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङग्याउने हाम्रो कोसिस छ । सायद यो कोशिस सफल हुन्छ ।
उनले एमाले र माओवादी एकतासँगै नेत्रविक्रम चन्द विप्लव र मोहन बैद्य किरणलाई पनि एकता प्रक्रियामा सहभागि हुन आव्हान गरे ‘ यो महान एकता र बहसमा सक्रियतापुर्वक सहभागिता जनाउन म समान विचार भएका कम्युनिष्टहरु सवैलाई आवहन गर्छु ।’
सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै प्रचण्डले करोडौ जनतालाई एकताबद्ध गराएरमात्रै समाजबादको सपना पुरा गर्न सकिने बताए । जनयुद्धको इतिहास, घुम्ती र मोडको स्मरण गर्दै उनले क्रान्तिका हिमायती भन्ने सवै पक्षले अव शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउनेतर्फ लाग्नुपर्ने बताए ।
उनले एमाले र माओवादी एकीकरण प्रकृया चलिरहेका बेला भाड्ने प्रयास भइरहेको भन्दै कम्युनिष्ट एकता हुन नदिनेहरु जनताका नेता हुनै नसक्ने ठोकुवा गरे ।
नेतृत्व मागेर नपाइने भन्दै उनले त्यसका लागि क्षमता, योग्यता, त्याग र बलिदान महत्पुर्ण हुने बताए । अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने नयाँ समाजवादी क्रान्तिको तयारीमा लागेको भन्दै अव यसबाटै नेपाली जनताका अधुरा सपना पुरा हुने दावी गरे । कार्यक्रममा प्रचण्डले २३ पाउन्डको केक काटेका थिए ।
स्मरण रहोस, हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी नेतृत्व, सरकारको नेतृत्व र एकीकृत पार्टी नेपालका विषयमा दुई नेताहरुबीच सहमति भइसकेको छ ।