के पढ्ने डटकमका सञ्चालकहरु देश दौडाहामा


चितवन, २४ माघ
अनलाइनबाट नै शिक्षा सम्बन्धी सबै जानकारी दिने उद्देश्यले स्थापना गरिएको के पढ्ने डटकमका सञ्चालकहरु अन्तरक्रियाका लागि देशका मुख्य शहरहरुमा पुगेका छन् । काठमाण्डौमा चार युवाहरु मिलेर खोलिएको वेबसाइटमा शिक्षा सम्बन्धी सबै जानकारी उपलब्ध गराइएको जानकारी दिँदै यसको प्रचार प्रसारका साथै विद्यार्थी, शैक्षिक संस्था तथा अभिभावकलाई जानकारी गराउँदै सुझाव लिन टोली देश दौडाहामा हिँडेको हो । एक वर्ष अगाडि काठमाडौँमा युवाहरु भेला भएर सञ्चालन गरिएको वेब साइडमा राजधानीका मात्रै चार सय भन्दा बढी शैक्षिक संस्थाहरुको जानकारी राखिएको के पढ्ने डटकमका प्रमुख कार्यकारी अधिकृत नवराज पाण्डेले जानकारी दिए । चितवन, मकवानपुर, मोरङ, झापा, सुनसरी, जनकपुर, बुटवल, दाङ, धनगढी जस्ता १५ वटा शहरमा वेब साइडको बारेमा जानकारी दिँदै सरोकारवालाहरुसँग छलफलका लागि गर्नको लागि निस्किएको पाण्डेले बताए । नेपाली शिक्षामा प्रविधिको प्रयोग गरि सूचना दिने र लिने दुवैलाई जोड्ने माध्यम के पढ्ने डटकम भएको पाण्डेको भनाइ छ । के पढ्ने डटकममा शैक्षिक संस्थाको जानकारी बाहेक वेब साइटमा शिक्षासँग सम्बन्धित सूचना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छात्रवृत्ति, परिक्षाफल, प्रवेश परिक्षालगायतका सबै जानकारी राखिएको के पढ्ने डटकमका प्रदिप सुवेदीले बताए । आफूहरु प्रचारप्रसारमा निस्किदै विद्यार्थी, शैक्षिक संस्थाहरुसँग छलफल गरेको बेलामा सबैले राम्रो प्रतिकृया दिएको सुवेदीको भनाइ छ । शैक्षिक संस्थाहरुले आफ्नो शैक्षिक संस्थाको सूचनाहरु अनलाइनमा राखेवापत के पढ्ने डटकमलाई दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने तर विद्यार्थीहरुले निशुल्क रुपमा वेब साइटबाट जानकारी लिन पाउने बताइएको छ ।