प्रेसमाथि अंकुश लगाउन सक्ने संघीय कानूनमा सजग हुनुपर्ने

चितवन, १५ माघ । मुलुक संघीय ढाँचामा जाँदै गर्दा प्रेसमाथि अंकुश लगाउन सक्ने नयाँ ऐन कानूनमा सजग हुन यहाँका पत्रकारहरूले सुझाएका छन् । प्रेश स्वतन्त्रताबिना संघीयता कार्यान्वयन भए जनताका अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ ।

प्रेस सेन्टर नेपालको १४औँ स्थापना दिवसका अवसरमा चितवन जिल्ला शाखाले आज यहाँ आयोजना गरेको प्रादेशिक संरचनामा ‘पत्रकारको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी अगुवा पत्रकारहरुले सो कुरामा जोड दिएका हुन् । पछिल्लो समय बिभिन्न राजनीतिक दलले प्रेसलाई स्वतन्त्र छाड्दा आफूहरुलाई समस्या आउने डरले वर्तमान संविधानमा उल्लेखित प्रेश स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास भएको उनीहरुको आरोप थियो ।

हरेक संकटको घडीमा पत्रकारले महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको बताउँदै नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रादेशिक कानून प्रेश स्वतन्त्रताको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडा, प्रेश सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल र प्रेश चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपालले प्रदेश र स्थानीय कानूनमा प्रेशलाई संकुचित नगराउन राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले पत्रकारका गुनासाप्रति आफू संवेदनशील भएकोे बताउनुभयो । प्रेश जगतमाथि अंकुश लगाउने गरी कुनैपनि ऐन कानून बन्न नदिइनेमा जोड दिंदै उहाँले भन्नुभयो, “दुःखका बेला सहयोग लिने र सुखमा बिर्सने चलन हामी गर्न दिँदैनौँ ।”
माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ले आफूले राजनीतिक यात्राअघि पत्रकारिता गरेको चर्चा गर्दैै नेपालको हरेक आन्दोलनमा पत्रकारिता जगत्को महत्वपूर्ण भूमिका रहेकाले जुनसुकै दल या सरकारले यो भूमिकाको कदर गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा, प्रेस युनियन जिल्ला अध्यक्ष नारायण अधिकारी, प्रेसचौतारी नेपाल जिल्ला शाखाका अध्यक्ष तीर्थ नेपाल र आयोजक संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले प्रेश स्वतन्त्राका विविध विषयमा चर्चा गर्नुभएको थियो