रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

महोत्सवमा कृषिलाई प्राथमिकता

रत्ननगर, चितवन,  पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुदैछ ।
महोत्सव व्यवस्थित रुपले सम्पन्न गर्न एक मुल समारोह समिति र विभिन्न उपसमिति बनाएर काम भइरहेको छ । महोत्सव हुने टिकौली चौरमा मैदान व्यवस्थापन, स्टल निर्माण र प्रचारप्रसारको काम भइरहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए । यस पटकको महोत्सवमा कृषिको प्रर्बद्धनलाई प्राथमिकता दिईएको छ । कृषिको विकास र विस्तारको लागि यस पटक प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासंग सहकार्य गरिएको महोत्सवका संयोजक रेग्मीले बताए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य रहेको संयोजक रेग्मीले बताए ।  महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिव ४५० वटा स्टल रहने छ । जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ । रत्ननगर महोत्सव २०७४ लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३३ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा कृषिलाई प्राथमिकता
महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको छ । स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजन प्रदर्शनको व्यवस्था गरिने छ । माछा, केरा, तरकारी तथा फलफुल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर हुनेछन । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्र्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि संचालन गरिने कृषि प्रवर्धन समितिका संयोजक ईश्वरी अर्यालले जानकारी दिए । महोत्सवमा माछाको पोखरीका साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई पनि प्राथमिकतामा राखिएको छ । माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ ।
वंगुरलाई प्राथमिकता दिदै माघ २ गतेदेखि फुड फेस्टिवल
महोत्सव अन्तर्गत माघ २ गते देखि ६ गते टाँडी चोकमा फुड फेष्टिवल गरिने छ । पाँच दिन सम्म चल्ने सो फुड फेष्टिबलमा बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि बंगुरसंग सम्वन्धित मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित पोर्क, पोल्ट्री, कृषिका खाद्य परिकार सहित फुड फेस्टिबल कार्यक्रम आयोजना गरिएको संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
कलाकारहरु द्वारा विविध सांस्कृतिक कार्यक्रम पनि हुने
रत्ननगर महोत्सबमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु बद्री पगेनी, कोमल ओली, हेमन्त शर्मा, मिलन लामा, प्रमोद खरेल, शशी रावल, एड्रियन प्रधान, मिना निरौला, सुनिल गिरी, नेत्रजी पन्त, भुवन प्यासी लगायतको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदयीमान प्रतिभाका कला प्रष्फुटनको अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने कला तथा सांस्कृतिक समितिका सदस्य राजेन्द्र हमालले जानकारी दिए । यस पटक महोत्सव प्रवेशको लागि टिकट शुल्क सर्वसाधारण तर्फ रु.५० र विद्यार्थी शुल्क रु.२५ राखिएको छ ।
रत्ननगर महोत्सवको शोभायात्रा वृहत वनाईदै
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको शोभायात्रामा यस पटक संघसंस्था,आमा तथा महिला समुह, विद्यालय, कृषि, पशुपंक्षी लगायतका ५ सय भन्दा वढिको सहभागीता रहने शोभायात्रा समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिईन् । अघिल्ला महोत्सवमा करिव ३ सय ५० को हाराहारीमा संघसंस्थाहरु सहभागी हुने गरेका थिए । महोत्सवको पहिलो दिनलाईनै विषेश वनाउने तयारी गरिएको संयोजक घिमिरेले वताईन् । मधेशी समुदायको पहिचान झल्कने झाँकी समेत यस पटकको महोत्सवमा हेर्न पाईने उनले जानकारी दिईन् । शोभायात्रामा सहभागी हुनेहरु मध्येलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । सहभागी मध्ये संघसंस्था,थारु लठ्ठी नाच,डम्फु नाच,कृषि,पंक्षी,संचार माध्यमबाट सर्वोत्कृष्ठ,उत्कृष्ठ र उत्तम छनौट गरेर अवार्ड प्रदान गरिने संयोजक घिमिरेले वताईन् ।