सरसफाई अभियानमा जुटदैं महानगरपालिका


चितवन, पुस ४
भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सरसफाई अभियानको थालनी गरेको छ । महानगरको गोन्द्राङमा गत् सोमबार सरसफाई उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई फोहोरमुक्त सुन्दर शहरमा परिवर्तन गरिने प्रतिवद्धता जनाइन् ।
महानगर प्रमुख दाहालले महानगर क्षेत्रमा संकलन हुने फोहोरलाई वर्गीकरण गरेर त्यसको व्यवस्थापन गरिने भन्दै फोहोररहित सुन्दर भरतपुरको परिकल्पना साकार पार्न हरेक घरबाट साथ र सहयोगको आवश्यक्ता रहेको बताइन् । सरसफाई अभियानको सुरुवात गर्दै महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती रावलले एकैसाथ सडकको फोहोर संकलन गरेका थिए । उनीहरुसँगै भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र सर्वसाधारण सरसफाई कार्यमा सहभागी भएका थिए ।
सरसफाई कार्यक्रममा सेना, प्रहरी, सशस्त्र प्रहरी र सामाजिक संघ–संस्थाका प्रतिनिधिले सडक छेउको फोहोर टिपेका थिए । भरतपुरको गोन्द्राङबाट सुरु भएको सरसफाई कार्यक्रम हाकिमचोक, चौबीसकोठी,लायन्सचोक, शहीदचोक, पुलचोक, मेनरोड हुँदै पोखरा बसपार्कमा पुगेर सकिएको थियो । सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै सुरुमा राजमार्ग र आसपासका क्षेत्र त्यसपछि भित्री सडक र नगरवासीको घरदैलोसम्म पुर्याइने महानगरपालिकाले जनाएको छ ।